संसद् गतिविधि कार्यक्रमलाई निरन्तरता दिने सम्बन्धी सम्झौता

काठमाडौँ । संघीय संसद् सचिवालय र रेडियो नेपालबीच संसद् गतिविधि कार्यक्रमलाई निरन्तरता दिने विषयमा सम्झौता भएको छ ।
कार्यक्रमलाई निरन्तरता दिने सम्बन्धी सम्झौतापत्रमा संघीय संसद् सचिवालयका सह–सचिव बबिता मिश्र र रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ ।
संघीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काको उपस्थितिमा संघीय संसद् सचिवालयमा आज उक्त सम्झौता पत्र सह–सचिव बबिता मिश्र र रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले आदानप्रदान गर्नुभयो ।
कार्यक्रममा सचिव खड्काले संसद्का काम कारबाहीहरूलाई आम मानिससम्म पुर्याउने र आम मानिसका आवाज संसद्सम्म ल्याउन रेडियो कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संसद्का गतिविधिहरूलाई आम मानिससम्म पुर्याउन रेडियो कार्यक्रम प्रभावकारी देखिएकाले संसद् सचिवालयले प्राथमिकताका साथ रेडियो कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
सहसचिव बबिता मिश्रले कार्यक्रमलाई प्रभावकारी बनाउने र निरन्तर रुपमा गरेर जाने विषयमा आपसी सहमतिबाट अगाडी बढ्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्