आदिवासी जनजातिको संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित चितवनमा महोत्सव

चितवन । चितवनका आदिवासी जनजातिको संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित नारायणगढको नारायणी नदी किनारमा महोत्सव हुने भएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ चितवनको आयोजनामा यही आउँदो चैत्र ९ देखि चैत्र १८ गतेसम्म प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको हो । आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक महेन्द्र दुराले स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र आदिवासी जनजातिहरूको भाषा, कला , संस्कृति संरक्षण गर्न पनि महोत्सव गर्न लागिएको बताउनु भयो । ‘महोत्सवले स्थानीय उत्पादन र व्यवसायको पनि प्रवर्द्धन गर्न टेवा पुग्छ , दुराले भन्नुभयो , हाम्रो संस्कृतिको पनि संरक्षण र जगेर्ना हुन्छ ।’ भरतपुर भ्रमण बर्ष चलिरहेको बेला यहाँ १७ वटा जनजातिको कला भेषभुषा तथा रीतिरिवाज लगायतको पनि पर्यटकले अवलोकन गर्न सक्ने उहाँको भनाई छ ।
महोत्सवले आदिवासीहरूको सांस्कृतिक पक्षको उजागर हुनुको साथै आर्थिक गतिविधि चलायमान हुन टेवा पुग्ने उहाँले बताउनु भयो ।
महोत्सवमा स्थानीय उत्पादन, जनजातिका कला संस्कृतिका स्टल, आइटी, साना तथा घरेलु व्यवसायका स्टल, अटो तथा जनजातिले उत्पादनका गरेका कृषि तथा हस्तकला लगायत ३०० वटा स्टल हुने आदिवासी जनजाति महासङ्घ चितवनका संरक्षक पदम बहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार १० दिन चल्ने उक्त महोत्सवमा दुईलाख अवलोकनकर्ताले अवलोकन गर्ने एक करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा ८० लाख खर्च हुने अनुमान छ । महोत्सवमा दर्शक आकर्षित गर्न स्थानीय कलाकारको प्रस्तुति तथा बाल उद्यान लगायतका खेलहरू पनि राखिने आयोजकले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्