नेपालगन्ज भन्सारलाई राजस्वको लक्ष्य भेटाउन हम्यहम्य

बाँके । खुल्ला सीमा नाका अनि हरेक दिनको राजस्व छलीका कारण चालु आर्थिक वर्षमा बाँके नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ ।
पश्चिम् तराईको प्रमुख भन्सार कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षको सात महिना सकिँदासम्म लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो महिना देखिनै निरन्तर लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको कार्यालयले हालसम्म लक्ष्यको ६१.५६ प्रतिशत मात्र राजस्व असुली गरेको हो ।
भन्सार विभागले यसबर्ष नेपालगन्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार राजस्व असुली गर्ने वार्षिक लक्ष्य दिएको छ भने हालसम्मको लक्ष्य १७ अर्ब १० करोड ६९ लाख ८६ हजार रहेको छ। तर फागुनको तेस्रो साता पुग्न लाग्दा कार्यालयले दश अर्ब ३७ करोड ६२ लाख ९५ हजार मात्रै राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पुण्यप्रसाद लम्सालले बताउनु भयो।
हालसम्म सङ्कलन भएको राजस्व हेर्दा भन्सार कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको हाराहारीको जति राजस्व सङ्कलन गरेको छ।
भन्सार आयातमा लक्ष्य अनुसार असुली गर्न नसकेको भन्सार कार्यालयले निर्यात भने गतबर्ष भन्दा केही बढाएको छ।
गत आर्थिक वर्षको माघ सम्म १ अर्ब ३० करोड ३६ लाख ५ हजार रुपैयाँ बराबरको बस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षमा १ अर्ब ३३ करोड ८४ लाख ११ हजार बराबरको जडीबुटी दालचिनी रिट्ठा प्लाइउड घ्यु लगायतका बस्तु निकासी भएको सूचना अधिकारीको लम्सालको भनाई रहेको छ।
पछिल्लो सात महिनामा सङ्कलन भएको राजस्वको गति हेर्दा भन्सार कार्यालय नेपालगन्जलाई यसबर्ष लक्ष्य पुरा गर्न मुस्किल हुने देखिएको छ।
चालु आर्थिक वर्षमा २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार राजस्व असुली गर्ने वार्षिक लक्ष्य भएपनि हालसम्म कुल वार्षिक लक्ष्यको ३६५ मात्रै असुली हुँदा यसबर्ष लक्ष्य भेटाउन मुस्किल रहेको छ।
कार्यालयले प्रतिदिन ८३ करोड ३९ लाख ३ हजार औसत राजस्व सङ्कलन गर्ने लक्ष्य लिएपनि सङ्कलन न्युन हुँदा लक्ष्य पुरा नहुने देखिएको छ।
खुल्ला सिमाका कारण भारतबाट अवैध रुपमा माल सामान पैठारी भएर आउने क्रम नरोकिएको हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकिएको सूचना अधिकारीको भनाई छ ।
पछिल्लो समय भन्सारमा कडाई गर्दा विभिन्न जटिलता समस्या उत्पन्न भएको र सिमानाकामा खुकुलो बनाउँदा राजस्व छली भएको सूचना अधिकारीको भनाई रहेको छ। त्यसैले राजस्व चुहावट र भन्सार छली रोक्न सिमानाकामा कडाई गर्न अति आवश्यक रहेको र अबका दिनमा थप कडाई गरिने समेत उहाँले बताउनु भएको छ।








प्रतिक्रिया राख्नुहोस्