तपाईँ सुन्दै हुनुहुन्छः

अपराध नियन्त्रणका लागि सरकार शून्य सहनशीलताका साथ अघि बढेको छ : गृहमन्त्री श्रेष्ठ

नेपालगन्ज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ “प्रकाश” ले सुशासन र शान्ति सुव्यवस्था गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

नेपालगन्जमा आजदेखि सुरु भएको लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले अपराध नियन्त्रणका लागि सरकार शून्य सहनशीलताका साथ अघि बढेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकारले स्थानीय प्रशासनलाई परिचालन गर्ने नीति लिएको बताउनुभयो । श्रेष्ठले सुशासन, स्थिरता र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यमा जोड दिनुभयो ।

उहाँले भ्रष्टाचार अहिलेको मुख्य चुनौती रहेको भन्दै उहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा सबै गम्भीर ढंगले लाग्नुपर्ने बताउनुभयो । श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिङ्गो प्रणाली सकारात्मक हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय वित्तीय अपराध बढेको भन्दै उहाँले यसतर्फ सबै सजग हुनुपर्ने बताउँदै अपराधीलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो । गृहमन्त्री श्रेष्ठले चनाखो भएर जनताको जीउधनको सुरक्षा गर्दै शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो ।

गोष्ठीमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, सशस्त्र प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायत उच्च सुरक्षा अधिकारीहरूको सहभागिता छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button