तपाईँ सुन्दै हुनुहुन्छः

‘महिला स्वयंसेविकाका कारण मातृ तथा बाल मृत्यु दरमा कमी आएको छ’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ महिला स्वास्थ्य स्वसेविकालाई नगदसहित सम्मान गर्नुभएको छ ।

प्रजातन्त्रको दिवसको अवसरमा प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा विराटनगरमा आयोजित उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रममा उहाँले महिला स्वास्थ्य स्वसेविकालाई खुट्टामा नयाँ जुत्ता लगाइदिएर उनीहरूलाई १५ हजार नगद र प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।

यसरी सम्मानित हुने हरुमा पम्फा राई ताप्लेजुङ, दिलमाया मगर उदयपुर, निरकुमारी राणा ओखलढुङ्गा, तिलमाया खड्का सुनसरी, दयावति राजवंशी झापा, छिरिजम्बा भोटे सङ्खुवासभा, पुण्यकुमारी पौडेल खोटाङ र यशोदा ढकाल पाँचथर जिल्लाका रहनुभएको छ ।

यस्तै गोमा भट्टराई तेह्रथुम, सिता तामाङ भोजपुर, इश्वरा निरौला इलाम, सोनीकुमारी चौधरी मोरङ, ल्हेमी शेर्मा सोलुखुम्बु र खड्गकुमारी विश्वकर्मा धनकुटा जिल्लाका रहनुभएको छ ।

मुख्यमन्त्री कार्कीले सम्मानित १४ महिला स्वयंसेविकाहरूलाई ब्याग, साडी सेट र टर्च लाइट समेत प्रदान गर्नुभयो ।

सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले महिला स्वयंसेविकाले दिनरात नभनी दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका गर्भवतीको निस्वार्थ सेवा गर्ने भएकोले उनीहरूको कामको सम्मान गरिएको बताउनुभयो ।

उहाँले महिला स्वयंसेविकाको कारण मातृ र बाल मृत्यु दरमा कमी आएको चर्चा गर्नुहुँदै महिला स्वयंसेविकालाई तिनै तहको सरकारले सम्मान गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले स्वयंसेविकालाई गरिएको सम्मानले उच्च मनोबलका साथ काम गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले सरकारले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति हुने खालको कार्यक्रमहरू ल्याउने जानकारी दिनुभयो ।

कोशी प्रदेशमा आठ हजार सात सय ९१ जना महिला स्वयंसेविका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button