रासस सेवालाई परिष्कृत गर्न सेवाग्राहीको सुझाव
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का सेवाग्राहीले समाचार सेवालाई परिष्कृत गर्न सुझाव दिएका छन् ।

‘सेवाग्राहीका दृष्टिमा रासस’ विषयक आज राससमा आयोजित छलफलमा सहभागी सेवाग्राहीले राससको समाचार सेवा प्रभावकारी बन्दै गइरहेको भन्दै सेवालाई थप सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।
राससले औपचारिकभन्दा अनौपचारिक समाचार, खोज तथा अनुसन्धानमूलक समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय एवं समसामयिक विषयका विश्लेषणात्मक समाचार, पुस्तक चलचित्र, नाटक समीक्षा लगायत समाचारलाई पनि राससले प्राथमिकता दिनुपर्नेमा सेवाग्राहीको सुझाव थियो ।
सेवाग्राहीको सुझावलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको सेवालाई अझ परिष्कृत र प्रभावकारी बनाइने बताउनुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले सेवाग्राहीसँग निरन्तर छलफल गर्दै रासस सेवालाई सहज रूपमा उपलब्ध गराउने तथा सेवाग्राहीको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधान सम्पादक एकराज पाठकले राससले सबै प्रकारका समाचार सेवालाई समयसापेक्ष, सन्तुलित, वस्तुनिष्ठ र प्रभावकारी बनाउँदै गएको बताउनुभयो ।
नेपाल न्यूज डटकमका सम्पादक राजु सिलवालले रासस समाचार सेवाको महत्व दिनप्रतिदिन बढिरहेको भन्दै समाचार सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाली हेडलाइनका प्रधान सम्पादक उपेन्द्र पोखरेलले राससको सेवा प्रभावकारिता र सान्दर्भिकता अझै बढिरहेको भन्दै खोजमूलक लामा समाचार र आलेखलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
टेक्नोलोजी खबर डटकमका सम्पादक अनुजराज ढुङ्गेल र नेपालपत्र डटकमका सम्पादक गोपाल भण्डारीले विज्ञान र सूचना प्रविधि सम्बन्धित समाचारलाई राससले उचित स्थान दिनुपर्ने सुझाव दिनुभयो ।
सिटी पोष्ट दैनिकका नेत्रप्रसाद न्यौपानेले, फरकधार डटकमका मिलन दाहाल, गोठालो डटकमका विष्णुकुमार कार्की, मुगलानी खबरका दिलमाया तामाङ, समुन्नत नेपालका बाबुराम आचार्य, सन्ध्याकालीन दैनिकका तारा सुवेदीले खोजी र आलेखलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्