राष्ट्रपति पौडेलद्वारा विभिन्न तीन व्यक्तिलाई विद्यागत पुरस्कार प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मीनकुमारी राणा प्रतिष्ठानद्वारा स्थापित विभिन्न तीन वटा विद्यागत पुरस्कार विभिन्न महानुभावहरूलाई प्रदान गर्नुभएको छ ।
मीनकुमारी राणा स्मृति प्रतिष्ठानले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरेको पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहमा राष्ट्रपति पौडेलले प्रजातन्त्र सेनानी पूर्व सांसद लेखनाथ न्यौपानेलाई प्रजातन्त्र सेनानी पुरस्कारबाट सम्मानित गर्नुभयो ।
यस्तै राष्ट्रपति पौडेलले प्रतिष्ठानले स्थापना गरेको पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाल र खेलकुद पुरस्कार बक्सिङ प्रशिक्षक प्रकाश थापा मगरलाई प्रदान गरी सम्मान गर्नुभयो ।
ती सबै पुरस्कारको राशि जनही ५१ हजार एक रुपैयाँ नगद रहेको छ । यस्तै सोही अवसरमा भक्तपुर सानोठिमी स्थित आर्दश माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि पनि प्रतिष्ठानद्वारा छात्रवृत्ति उपलब्ध गराइएको थियो ।
सो अवसरमा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनसेवा र समाजसेवालाई मुल लक्ष्यका रुपमा लिएर अघि बढ्नु अहिलेको आवश्यकता भएकाले सोही अनुसारको व्यवहार सबैले आत्मसात गर्दै जानुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले मुलुकमा दिगो शान्ति सुशासन र विकासबाटै सम्भव भएकाले अव यस तर्फ केन्द्रित हुन सबैको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा सांसद दुर्लभ थापाले नीजि तबरबाट समेत प्रदान गरिने यस्ता पुरस्कारले भावी पुस्तालाई असल काम गर्न प्रेरणा दिने आफूले विश्वास लिएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही मीनकुमारी राणा प्रतिष्ठानका अध्यक्ष कविर राणा, महासचिव रवि राणा लगायतले मीनकुमारी राणा प्रतिष्ठानले आगामी दिनमा पनि समाजमा उत्प्रेरणा प्रदान गर्ने खालका कार्यक्रमहरूलाई अघि बढाउँदै जाने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्