तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले आम नागरिकको स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्छ : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले क्यान्सर रोगको उपचारका लागि सरकारले आम नागरिकको स्वास्थ्य बिमाको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

मोरङको बुढीगंगा–२ स्थित टंंकिसिनुवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा आजदेखि सञ्चालनमा आएको रेवन्त–रुक्मिणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको उद्घाटन गर्नुहुँदै उहाँले क्यान्सर रोगको उपचार अत्यन्त खर्चिलो र महँगो भएकाले ५ हजार रुपैयाँ बराबरको प्रत्येक नेपाली नागरिकको बिमा सरकारले गर्नुपर्ने बताउनुभयो ।

क्यान्सर रोगका कारण १५ जना परिवारको सदस्य आफूले गुमाएको पीडा सुनाउनुहुँदै उहाँले सबै उमेर समूहका मानिसलाई स्वास्थ्य बिमा गर्न पाउनुपर्ने बताउनुभयो ।

क्यान्सर रोगीको उपचारको लागि सरकारले १ लाख रुपैयाँ दिने व्यवस्था गरेको र त्यो रकम कम भए पनि त्यो भन्दा बढी रकम दिन सक्ने अवस्था राज्यले धान्न नसक्ने उहाँले बताउनुभयो ।

भ्रष्टाचारले मुलुकको हरेक क्षेत्र प्रभावित भएको बताउँदै नेता कोइरालाले असर काम गरेर सरकारले आम जनतालाई सुशासनको अनुभूति दिलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा हास्य कलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथामका लागि सरकारले सहज उपचारको व्यवस्था गर्दै रोग विरुद्ध आम नागरिकलाई सचेत गराउनु आवश्यक रहेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरमा क्यान्सर अस्पताल सञ्चालनमा आएपछि अब यो रोगको उपचारका लागि बाहिर जानु नपर्ने गरी सबै सुविधा यही अस्पतालमा पाउनुपर्नेमा जोड दिनुभयो ।

अस्पतालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले क्यान्सर रोगको उपचार सहज बनाउन अस्पतालमा सबै प्रकारको उपचारको व्यवस्था मिलाइएको बताउनुभयो । कार्यक्रममा काठमाडौँ युनभर्ससिटीका डिन मनोज हुमागाईँ तथा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले क्यान्सर रोगको रोकथामका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button