प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन माओवादी केन्द्रको निर्देशन
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले एक परिपत्र जारी गर्दै प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा माघ १३ गते बसेको बैठकले संसदीय दलका नेता खगराज भट्टको जानकारी विना प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय अविलम्ब सच्याउन निर्देशन दिने निर्णय गरेको जनाएको छ ।
‘यही मिति २०८० माघ १२ गते नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले दलका नेता खगराज भट्टको जानकारी विना उपनेता अक्कल बहादुर रावलको अध्यक्षता बैठक बसेर दलको नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्नेप्रति पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ, परिपत्रमा भनिएको छ ।
“हाम्रो पार्टी परम्परा विधि विपरीत केन्द्रिय कार्यालयको निर्देशनको समेत अवज्ञा गरि भएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको निर्णय पार्टीका हजारौँ कार्यकर्ताको मनोभावना विपरीत भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो ।” परिपत्रमा उल्लेख गरिएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको समस्यालाई गम्भीरता पूर्वक लिएर केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल गर्न समेत परिपत्रमा आग्रह गरिएको छ ।
यही माघ १२ गते बसेको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बहुमत सांसद (६ जना)को बैठकले दलका नेता खगराज भट्टलाई हटाएर प्रमुख सचेतक मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो ।
सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका ११ जना (सभामुखसहित) प्रदेशसभा सदस्य छन् ।









प्रतिक्रिया राख्नुहोस्