हेटौँडास्थित शहीद स्मारकमा बुद्धपार्क उद्घाटन

मकवानपुर । आजदेखि शहीद सप्ताह शुरु भएको छ ।
आजदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । १६ गते विशेष कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । शहीद सप्ताह अन्तरगत आज पहिलो दिन हेटौँडास्थित शहीद स्मारकमा बुद्धपार्क उद्घाटन गरिएको छ ।
शहीद स्मारक विकास समिति र हेटौँडा उपमहानगरपालिका–११ नम्बर वडा कार्यालयको आयोजनामा आज बिहान एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले पार्क उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री पौडेलले शहीदको ऐतिहासिक थलोको रुपमा विकसित स्मारकलाई धार्मिक पर्यटनसँग पनि जोडेर अघि बढिरहेको बताउनुभयो । उहाँले शहीद सप्ताहका अवसरमा एक हप्तासम्म हुने विभिन्न कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभयो ।
नवनिर्मित पार्कमा गौतम बुद्ध जन्मेपछि सात पाइला हिँडेको बुद्धको मूर्ति देख्न सकिन्छ । उक्त स्थानमा गौतम बुद्धकी माता मायादेवी, भगवान् ब्रम्हा र इन्द्रको मूर्ति पनि राखिएको छ । समितिले शहीद दिवसलाई सप्ताहव्यापी मनाउने कार्यतालिका अनुसार आज पार्कको उद्घाटन गरिएको समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो ।

स्मारक विकास समितिले शहीद सप्ताह २०८० का अवसरमा भोलि माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरूको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सांस्कृतिक कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरीय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “शहीद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता, माघ १४ गते वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, शहीदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्