तपाईँ सुन्दै हुनुहुन्छः

संविधान प्रदत्त अधिकारलाई सुदृढ गरेर अगाडि बढौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकार संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँको टुँडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै उहाँले प्राप्त भएको अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । प्रधानमन्त्रीले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्ताबेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धिसमेत गुम्न सक्नेतर्फ सम्पूर्ण नेपालीलाई सचेत गराउनुभएको छ ।

नेपालका भूमि पुत्र थारु समुदाय कर्मठ र इमानदार जातिका रूपमा आफ्नो छवि र पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्य जाति जनजातिलाई पनि श्रम संस्कृति र राष्ट्र निर्माणको पक्षमा सकारात्मक प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो ।

नेपालको राजनीतिक आन्दोलनमा थारू समुदायको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा थारु समुदायको सङ्घर्ष र बलिदान रहेको स्पष्ट पार्नुभयो ।

थारू आयोगले थारू सम्वद्ध नीति निर्माणका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा सञ्चालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रधानमन्त्रीको कथन छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा व्यवस्था गरिएका अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक ढङ्गले प्रस्तुत हुन प्रधानमन्त्रीले अपिल गर्नुभयो । यस पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय सङ्कल्प र प्राथमिकतामा केन्द्रित हुन थप उत्प्रेरणा मिल्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा थारु समुदायका सांस्कृतिक भेषभूषासहितको प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button