तपाईँ सुन्दै हुनुहुन्छः

वर्षा र हिमपात नहुँदा कृषक र व्यापारी चिन्तित

मुगु । हिमपात र वर्षा नहुँदा मुगुका किसानहरू चिन्तित देखिएका छन् । पुस महिनाको अन्त सम्म पनि वर्षा र हिमपात नहुँदा खडेरीले जौ, गहुँ, तरकारी, सागसब्जी  सुक्न थालेपछि किसान चिन्तित भएका हुन् ।

विगतका  वर्षमा पुस लाग्ने बित्तिकै वर्षा  पछि हिमपात हुँदा  वनपाखा,पखेरा, घरआँगन हिउँले ढाक्ने गरेकोमा अहिले पुस सकिन लाग्दासम्म हिमपात र वर्षा नभएर खडेरी परेकोले जताततै सुख्खा जमिन हुँदा  रुघा, खोकीका बिरामीहरू समेत गाउँ बस्तीमा देखिन थालेका छन् ।

मुगु लगायत कर्णाली प्रदेशका उच्च हिमाली भेग क्षेत्रमा गएको मङ्सिरको  अन्ततिर हल्का हिमपात र वर्षा भएपनि  बेँसीमा  गत असोज महिना देखि वर्षा र हिमपात नहुँदा खडेरीले किसानका खेतबारीमा लगाएको जौ, गहुँ देखि बारीको साग तरकारी समेत सुक्न थालेको छ।

पुस, माघमा हिमपात र वर्षा नहुँदा हिउँदे अन्नबाली, फलफूल र जडीबुटीका साथै पशु चौपायाका लागि घाँसको उत्पादन  कम हुने किसानको भनाइ छ । सुक्खा खडेरीले अधिकांश किसानले मंसिरमा पाखो बारीमा छरेको जौ, गहुँ अझैसम्म उम्रिन सकेका छैनन् भने उम्रेका खेतबारीमै सुक्न थालेका छन् ।

खडेरीले बनपाखा सुक्दै गएपछि चौपायालाई चरिचरन गर्न समस्या हुन थालेको छ । हिउँ नआए भोकमरी र रोग फैलिने स्थानीयको भनाइ छ 

उहिले जस्तो अहिले हिउँ पर्न छोडिसक्यो, छायाँनाथ रारा –७ पिनाल गाउँका ७४ वर्षीय  चैते शाही भन्नुहुन्छ  ‘पुस लागेपछि घरको ढोका थुन्ने गरि हिउँ आउँथ्यो । बाहिर निस्कन मुस्किल हुन्थ्यो । अहिले गाउँमै बाक्लो हिउँ पर्न छोडिसक्यो ।’

मुगालीहरूको आयस्रोतको मुख्य आधार हिमाली पाटन क्षेत्रमा पाईने जीवन बुटीको नामले चिनिने यार्सागुम्बाको उत्पादनमाका ह्रास आउने देखिएको छ ।लेकाली बस्तीका स्याउमा आत्मनिर्भर करिब ४ सयभन्दा बढी किसान हिउँ र वर्षाको पखाईमा छन् । हिमपात र वर्षा नभए स्याउ उत्पादन नहुनुको साथै मुगुको हिमाली क्षेत्रमा पाईने महत्त्वपूर्ण  बुटी,यार्सा, चिराइतो कटुकी, भुल्ते, गुच्छि च्याउ, जटामसी, बन लसुन, खिरौँला उत्पादनमा ह्रास आउने भए पछि स्थानीय जडीबुटी व्यापारी र सङ्कलन कर्ताले चिन्ता ब्यक्त गरेका छन् ।

सोरू गाउँपालिका खनाया गाउँ निवासी जडीबुटी व्यापारी रङ्ग बहादुर शाहीले जडीबुटी ब्यापार गरेको धेरै बर्ष भयो । उहाँ भन्नुहुन्छ “यसपाली समयमा हिउँ परेन  हिउँ बिना त्यति राम्रो हुँदै व्यापारमा यो बर्ष ठुलो घाटा हुने भयो” मुगुम कार्मारोङ गाउँपालिकाका वडा नं ७ का जडीबुटी व्यापारी  पात्मा नुर्व लामाले भने “यस बर्ष  अहिले सम्म हिउँ परेको छैन  ।  जडीबुटी  उत्पादन राम्रो नहुने सम्भावना भएपछि यो बर्ष व्यापार घाटा बेहोर्नु पर्ने भयो ।” 

प्राय पुस महिनामा सेताम्मे देखिने नेपालकै सुन्दर पर्यटकीय क्षेत्र रारामा पनि यो पटक बाक्लो हिउँ परेको छैन । गत मंसिरमा हल्का हिउँ परे पनि बाक्लो हिमपात नहुँदा रारामा सुक्खा र उजाड देखिएकोले हिउँ खेल्न रारा पुगेका पर्यटकहरू हिउँ नहेरी फर्किने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button