बेरोजगारीको पीडा : युवाजती भारत पलायन, गाउँ बस्ती सुनसान

मुगु । दिन प्रतिदिन जिल्लामा बेरोजगारीको सङ्ख्यामा वृद्धि भएसँगै बाल बच्चा पढाउन र दैनिक घरखर्च जोहो गर्नका लागि यहाँका युवाहरू भारततीर लागेका छन् । युवा,युवतीहरू भारतको ब्याङ्गलोर, नैनिताल, हिमाञ्चल प्रदेश, बम्बई, कलकत्ता लगायतका ठाउँमा कामको खोजीमा हिँडेपछि आजभोलि मुगुका गाउँ बस्ती सुनसान देखिन्छन् ।

मुगुका गाउँ घरमा आजकल बिरामी र बुढाबुढी र महिला मात्र भेट्न सकिन्छ । घरमा श्रीमती र छोरा छोरी छोडेर भारत जान बाध्यात्मक स्थिति हुने एउटै कारण हो गरिबी । मुगु जिल्लामा आफ्नो खेतीपातीले छ महिनासम्म मुस्किलले गुजारा गर्न सकिने र बाँकी ६ महिना ज्याला मजदुरी गरेर घर खर्च धान्नु पर्ने बाध्यता धेरैको छ । विगतका वर्षमा जिल्लामा बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम लागू भएको थियो ,जसले गर्दा हजारौँ नागरिकहरू सडक खनेर रोजगार बनेका थिए । केही वर्ष अगाडि जिल्लामा कामको लागि खाध्यन्न कार्यक्रमसमेत लागू हुँदा काम गरेर चामल दिने गरिन्थ्यो । तर हाल जिल्लामा कुनै किसिमका गौरवका आयोजना भइरहेका छैनन् । वर्षौँदेखि लागू भएका कार्यक्रमको पनि समयावधि सकिदा र अन्य कुनै किसिमका उद्योग कलकारखाना नखुल्दा जिल्लामा बेरोजगारीको समस्या चरम बनिरहेको छ । त्यसैले पछिल्लो समय रोजगारीको कुनै अवसर नहुँदा बाध्यात्मक स्थितिमा युवा युवतीहरू भारतका विभिन्न शहर पस्न बाध्य बनेका हुन् ।

रोजगारीका लागि भारत जानेहरूमा धेरै जसो आर्थिक अवस्था कमजोर भएका दलित समुदायका मानिसहरू धेरै छन् । खेतीपाती सकेर अन्न थन्क्याई सकेपछि हिउँदको समयमा गाउँघरमा खासै काम नहुने र भारतमा काम गरि रोगको उपचार गर्नसमेत सजिलो हुने भएकाले आफूहरू भारत पस्न बाध्य हुनुपरेको छायाँनाथ रारा नपालिका वडा नं. १ निवासी कुज्या नेपालीले बताउनुभयो ।
घरमा बुडी आमालाई छाडेर छायाँनाथ कै अर्का दलित युवा नानाभाउ नेपाली श्रीमतीसहित भारत गएका छन् ।‘केही कमाउला र उपचार पनि गरौँला भनी छोरा बुहारी बुडी आमालाई छोडेर भारत पसे, गाउँमा बुडी आमाको रेखदेख गर्ने मान्छे नै छैनन् यो हामीहरूको बाध्यता हो’ नेपालीले गुनासो गर्नुभयो । छायाँनाथ रारा वडा नं ६ निवासी जुनतारा मल्ल पनि घरमा आर्थिक समस्या भएपछि बाल बाल बच्चा पढाउनकै लागि भएपनि आफू रोजगारीको खोजीमा भारत जान लागेको बताउनु हुन्छ । ‘पहिले, पहिले महिलाले घरको काम मात्र गर्नु पर्थ्यो तर घरै धान्न मुस्किल हुने भएपछि कमाइका लागि बाध्य भएर भारत जान लागेको हुँ’ उहाँले पीडा सुनाउनु भयो ।

पछिल्लो समयमा जिल्लामा आर्थिक संकट हुन थालेपछि मुगु जिल्लाको छाँयानाथका मात्र हैनन् मुगुम् कार्मोङ, खतेड र सोरू गाउँपालिकाका बस्तीबाट करिब हजार भन्दा बढी मानिसहरू भारत पसेका छन् । सयौँ युवाहरू पढाइ अनुसारको रोजगारी नपाए पछि यही समय जापान , कोरिया, पोर्चुगल, माल्टा, कतार, साउदी, मलेसिया लागेका छन् ।
योग्यता अनुसार रोजगारी नपाएपछि बाध्य भएर जापान जान लागेको छायाँनाथकै युवा पदमबहादुर हितानले बताउनु भयो । ‘जिल्लामा रोजगारी छैन, के गरेर घर घर चलाउनु रु’ हितानले गुनासो सुनाउनु भयो । देशमा रोजगारीको अवस्था सृजना हुन नसक्दा आफू जस्ता पढेर डिग्री हँसिला गरेका युवाहरू बाध्य भएर ऋण निकाली बिदेसिनु परेको हितानले बताउनुभयो। धमाधम युवाहरू विदेश गएसँगै यता गाउँ बस्ती सुनसान छन् । बुढापाका, महिला,बालबच्चा, बिरामी मात्र रहँदा बस्तीहरूमा सधैँ जसो हुने चहल पहलमा कमी आएको छ ।








प्रतिक्रिया राख्नुहोस्