तपाईँ सुन्दै हुनुहुन्छः

आर्मीसँग सशस्त्र प्रहरी २६ रनले पराजित

वीरगञ्ज । वीरगञ्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आजको पहिलो खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरीलाई २६ रनले पराजित गरेको छ ।

सशस्त्र प्रहरी १९ ओभरमा ८८ रन बनाएर अलआउट भएपछि आर्मी २६ रनले विजयी भएको हो ।

खेलमा सशस्त्रका कप्तान प्रदीप ऐरीले ३३ बलमा २९ रन बनाएका थिए । लोकेश बमले १९ बलमा १६ र आसिफ शेखले १७ बलमा १२ रन जोडे । आर्मीका बलर कुशल मल्लले एक्लै पाँच विकेट लिए । उनले चार ओभरमा १८ रन मा दिए ।

यस्तै, साहब आलमले चार ओभरमा सात रन दिएर एक विकेट पाए । सोमपाल कामी, विवेक यादव र बसिर अहमदले एक–एक विकेट पाए ।

कामीले तीन ओभरमा आठ रन, विवेकले दुई ओभरमा १३ रन र बसिरले चार ओभरमा २५ रन खर्चिए । यसअघि त्रिभुवन आर्मीले सशस्त्र प्रहरीलाई १ सय १५ रनको लक्ष्य दिएको थियो ।

खेलमा पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय १४ रन बनाएको हो । खेलमा आर्मीका खेलाडी सन्तोष कार्कीले सर्वाधिक ३१ बलमा ३२ रन बनाए ।

यस्तै, कुशल मल्लले २३ बलमा २२ रन बनाए भने सन्दीप रजालीले १३ बलमा १६ र विनोद भण्डारीले १७ बलमा १० रन बनाए ।

सशस्त्रका बलर अमरसिंह रौटेलाले चार ओभरमा ११ रन खर्चिएर पाँच विकेट लिए । अर्का बलर हरिशंकर साहले चार ओभरमा १९ रन खर्चिएर दुई विकेट लिए । अविनाश बोहोराले चार ओभरमा २६ रन दिएर एक विकेट लिए ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडाको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button