उत्पादन र बजार राम्रो भएसँगै केरा खेतीका लागि जग्गा अभाव
चितवन । चितवनमा पछिल्लो समय केरा खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । उत्पादनसँगै केरा खेतीले बजार पाएपछि किसान यसतर्फ आकर्षित भएका छन् । तर पछिल्लो समय चितवनमा केरा खेतीको लागि जग्गा अभाव हुन थालेको छ ।

केरा खेतीको लागि एकै ठाउँमा ठूलो क्षेत्रफल जग्गाको आवश्यक पर्ने भएकोले यहाँ जग्गाको अभाव खड्किएको हो । यहाँका व्यावसायिक किसानले ५ बिघादेखि ६० विघा क्षेत्रफलसम्म केरा खेती गर्दै आएका छन् । बाह्रै महिना यसको उत्पादन र बजार राम्रो भए पनि उत्पादन वृद्धिका लागि जग्गा अभाव भएको किसानहरू बताउँछन् । भरतपुर महानगरपालिका–२३ मा २३ विघा क्षेत्रफलमा केरा खेती गर्दै आउनुभएका किसान घननाथ महतो पछिल्ला वर्षमा चितवनमा केरा खेतीका लागि जग्गा अभाव हुँदै गएको बताउनुहुन्छ ।

केरा खेतीका लागि समथर, सुख्खा जग्गा आवश्यक परे पनि पानीको निकास हुने जग्गा उपयुक्त हुन्छ । नेपाली केराको माग, खपत राम्रो भए पनि जग्गा अभावका कारण थप उत्पादन गर्न नसकिएको उहाँको भनाई छ ।
जग्गा प्रशस्त भएमा बाह्रमासे केरा उत्पादन हुने र भारतीय केराको आवश्यक नपर्ने उहाँले बताउनुभयो । ‘सिजनमा त स्वदेशी केराले जेनतेन थेग्न सक्छ, तर अफसिजनमा भारतकै भर पर्नुपर्छ ।’ महतोले भन्नुभयो । चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेका महतोले अझै पनि ५० प्रतिशत बढी भारतीय केराले बजार ओगटेको बताउनुभयो ।

विज्ञका अनुसार केरा खेतीमा एउटै जातको केरा एकै ठाउँमा निरन्तर लगाउँदा रोग लाग्ने र उत्पादनमा ह्रास आउने गर्दछ । फरक जग्गामा माटो सुधार गरेर केरा लगाउँदा रोगको जोखिम कम र उत्पादनमा वृद्धि हुन्छ ।
चितवनका अर्का किसान विष्णुहरि पन्त चितवनमा केराको उत्पादन र बजार राम्रो भए पनि क्षेत्रफल बढाउन नपाएको गुनासो गर्नुहुन्छ । उहाँले हाल फरक फरक पालिका गरी ४० विघा क्षेत्रफलको हाराहारी मा केरा खेती गर्दै आउनुभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई अन्तर्गत चितवनमा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, कालिकाका वडामा केरा जोन विस्तार भएसँगै किसानको केरा खेतीतर्फ आकर्षण बढ्दै गएको हो ।
केराले उत्पादन हुन थालेसँगै नयाँ किसानहरू आउन चाहे पनि जग्गा अभावले गर्दा समस्या भएको छ । चितवनमा जग्गा अभाव हुँदै गएपछि पुराना किसानले छिमेकी जिल्लाहरूमा जग्गा भाडामा लिएर खेती गर्न थालेका छन् ।

संघका अध्यक्ष माधव घिमिरे उत्पादन र बिक्री राम्रै भए पनि जग्गा अभावका कारण क्षेत्रफल विस्तार गर्न नसकेको बताउनुहुन्छ । ‘अहिले पुराना किसान पनि छिमेकी जिल्ला र पहाडी भेगमा समेत केरा खेती विस्तार गर्न थालेका छन्, घिमिरेले भन्नुभयो, तराईमा जस्तो पहाडी भेगमा भने उत्पादन राम्रो हुँदैन ।’ हाल चितवनमा जीनाइन, मालभोग र अष्ट्रेलियन जातको केरा लगाइँदै आएको छ ।
यहाँ तीन हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । संघका अनुसार चितवनमा वार्षिक २ अर्ब बढीको केराको कारोबार हुन्छ । यहाँ सात सय बढी व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्