लुम्बिनी प्रदेश सरकारले कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको छ : प्रदेश सभामुख घर्तिमगर

दाङ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारले कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ । उहाँले कानुनको अभावमा कामकाज रोकिने अवस्था हटाई सहजताको बाटो खोजिरहेको बताउनुभयो ।
सङ्घीयताको मर्मअनुसार तिनै तहको सरकार अघि बढेको अवस्थामा कानुन नहुँदा हरेक कामकाजले गति लिन नसकिरहेको अवस्थालाई ध्यानमा राख्दै लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण र कार्यान्वयनको पाटोलाई तीव्रता दिएको बताउनुभयो ।
आज दाङको बंगलाचुली गाउँपालिकामा आयोजित कानुन निर्माण प्रक्रियाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तिमगरले यस्तो बताउनुभएको हो ।उहाँले प्रदेश सरकारले प्रदेश निजामती ऐन २०८० जारी गरिसकेको र आउँदो हिउँदे अधिवेशनमा पेश हुनेगरी स्थानीय निजामती सेवा ऐन २०८० को निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका सभामुख तुलाराम घर्तीमगरले स्थानीय तहमा कानुनको सैद्धान्तिक ज्ञानको अभावमा अनेकौँ समस्याहरू आएको र त्यसको समाधानका लागि प्रदेशले कानुन निर्माण गरेर बाटो खोल्ने बताउनुभयो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपालिकाले प्रदेश सरकारको ऐनलाई टेकेर कानुन बमोजिम कामकाज अघि बढाएको बताउनुभयो । उहाँले प्रदेश सरकारले समयमै आवश्यक कानुनको निर्माण नगर्दा कतिपय अवस्थामा स्थानीय सरकारको कानुन र प्रदेश सरकारको कानुन बाझिँदा समस्या झेल्नु परेको स्मरण गराउनु भयो ।
बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक भक्त बहादुर जिसीले स्वागत तथा विषय प्रवेश गराउनुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त पौडेलले गाउँपालिकाले निर्माण गरेका कानुनका बारेमा जानकारी गराउनुभएको थियो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्