खाद्यान्नको भाउ आकासिएपछि महँगीको मारमा मजदुर

बैतडी । आर्थिक मन्दीको समयमा मजदुरी समेत नपाइरहेका र काम गरेपनि ज्याला नपाइरहेका मजदुर वर्ग महँगीको मारमा परेका छन् ।
अहिले बजारमा गरिब नागरिकले खाने मोटो चामलको मूल्य प्रतिकेजी ६० रुपियाँ पुगिसकेको छ । अघिल्लो महिना मात्रै प्रतिकेजी ४२ रुपियाँमा पाइएको मोटो चामलको भाउ एकै पटक चुचुरोमा पुगेको हो । भाउ अझै बढ्न सक्ने भएकाले केही व्यापारीले मोटो चामलमा कृत्रिम अभाव समेत सृजना गरेका छन् । उनीहरू भाउ बढेपछि मात्रै बेच्ने योजनाका साथ चामल गोदाममै लुकाइरहेका छन् ।
अहिले अन्य चामलको दाँजोमा मोटो चामलको मूल्य एक्कासी बढेको डिलाशैनी गाउँपालिका–०६ गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठ बताउनुहुन्छ । ‘धानिमानी वर्गले खाने मसिनो चामलको मूल्य वृद्धिको तुलनामा गरिबले खाने मोटो चामलको मूल्यवृद्धि अत्यधिक छ । १ महिना अघिको तुलनामा अहिले १५ रुपियाँले मूल्यवृद्धि हुनु निकै दुःखद पक्ष हो ।’ उहाँले भन्नुभयो ।
कैलालीको धनगढीबाट आउने चामलको मूल्यमा बैतडीका व्यापारीले प्रतिकेजी ८० पैसा मात्रै नाफा राखेर बेच्ने गरेको व्यवसायी झुपा श्रेष्ठको भनाई छ । आर्थिक सङ्कटको समयमा केही व्यापारीले कालो बजारी गर्ने नियतले कृत्रिम अभाव सृजना गर्नु दुःखद पक्ष भएको उहाँको भनाई छ ।

यसरी चामलको भाउ एक्कासी आकासिएपछि सर्वसाधारण नागरिक महँगीको मारमा पर्न थालेको पाटन नगरपालिका –०६ का हरिश भुलले बताउनुभयो । ‘दिनभरी मजदुरी गरेर साँझपख २ केजी चामल बोकेर घर पुग्ने मजदुरको छाक महँगीले खोस्दै गएको छ । रोजगार केहिपनि छैन, कसैले घर निर्माण गरेमा वा कुनै पनि काम खुलेमा त्यसैमा कष्टकर काम गरेर भएपनि छाक टार्ने मजदुरले कामै पाएका छैनौँ, कतै काम गरेपनि उधारोमा काम गर्नुपर्ने बाध्यता छ ।’उहाँले भन्नुभयो ।
देशमा आएको आर्थिक सङ्कटको प्रत्यक्ष प्रभाव मजदुर वर्गमा पर्ने गरेको दशरथचन्द नगरपालिका –०८ का केशव राम टमाटाको भनाई छ । ‘कोरोना बेला मजदुर वर्ग, अन्य कारणले आर्थिक मन्दी हुँदा मजदुर वर्ग सबै सङ्कटमा हामीलाई नै समस्या पर्छ, बरु ठुलाबडाको काम चलेकै होला, मजदुरको पीडा कसले सुनिदिने ?’उहाँले भन्नुभयो ।
आर्थिक उपार्जनको बाटो बन्द भएको समयमा गरिबका ढाड सेक्ने गरी भएको मूल्यवृद्धि रोकिनुपर्ने सामाजिक अभियन्ता रमेश कोलीको भनाई छ । ‘यस्तो बेला सरकारले सुपथ मूल्य पसल खोल्नुपर्ने, केही सहुलियत दिनुपर्ने हो, त्यो नुहदाँ मजदुरलाई झैँ समस्या भएको छ ।’ उहाँले भन्नुभयो ।
अहिले बैतडीका बजारमा प्याजको भाउ १ सय ५० देखी १ सय ८० रुपियाँ रहेको छ । व्यापारी पिच्छे नै सामानको मूल्य निर्धारण भएको पाइन्छ । मूल्य कायम गर्ने सरकारी निकाय नै नहुने गरेको सरकारी अधिकारी बताउनुहुन्छ ।
बैतडी लगायत सुदूर पहाडमा चामल आउने प्रमुख सहर कैलालीमा किन एक्कासी खाद्यान्नको मूल्य वृद्धि भएको ? भन्ने प्रश्नमा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल भन्नुहुन्छ, ‘मूल्य निर्धारण गर्ने सरकारी निकाय होइन, व्यवसायीले बजारमा सामानको उपलब्धताको आधारमा मूल्य निर्धारण गर्छ, सोही अनुसार मूल्य निर्धारण भएको हो, खाद्यान्न र तरकारीको पनि मूल्य निर्धारण व्यवसायीकै हातमा छ ।’
मोटो चामलको भाउ आकासिने विषय भारतीय बजारमा निर्भर रहेको व्यापारी बताउँछन् । दशरथचन्द नगरपालिका–०२ देहिमाण्डौका व्यापारी धन बहादुर क्षेत्रीले भन्नुभयो, ‘भारतमा भइरहेको चुनाव अघि पार्टीका एजेन्डामै उताको मूल्यवृद्धि रोक्ने कुरा थियो, त्यसकारण भारतको चामल नेपाल आउन दिइएन, यताको उत्पादनले धान्न सकिदैँन् मोटो चामलको विषय पूर्ण रूपले भारतीय बजारमा निर्भर भएकाले भारतबाट चामल भित्रिँदा नै महँगोमा आउने गरेको छ ।’







प्रतिक्रिया राख्नुहोस्