गिरीको कथा सङ्ग्रह ‘सुतेको समुद्र’को दोस्रो संस्करण प्रकाशित
काठमाडौँ । कथाकार गोविन्द गिरी प्रेरणाको पहिलो कथासङ्ग्रह ‘सुतेको समुद्र’को चालिस वर्षपछि पुनः दोस्रो संस्करण प्रकाशित भएको छ।
नेपाल स्रष्टा समाजद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ समालोचक प्रा.डा.दयाराम श्रेष्ठ, कथाकार किशोर पहाडी तथा लेखक गिरीले पुस्तकको सामूहिक रूपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रा.डा.दयाराम श्रेष्ठले गिरीको लेखन शैली, विषय वस्तु र घटनाहरूको व्याख्या गर्नुका साथै ३० को दशकदेखि लेखन कार्यमा सक्रिय रहँदै आएका गिरीले कथा, कविता, नाटक, उपन्यास, जीवनी, नियात्रा विधामा समेत सशक्त रूपमा कलम चलाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा कथाकार किशोर पहाडीले गोविन्द गिरी स्पष्ट एवम् ऊर्जाशील लेखक भएको उल्लेख गर्दै लेखकहरूको नाम हाल विलीन हुँदै गइरहेको परिस्थितिमा गिरीको सक्रियता लोभलाग्दो रहेको बताउनुभयो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’ ले सामाजिक सञ्जालको समयमा लेखक तथा कविहरू प्रशस्त देखा परेको र छोटो अवधिमा चर्चामा आउन चाहने र छोटो समयमै हराउँदै जाने गरेको यथार्थबिच हरेक विधामा उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आएका गोविन्द गिरीको चालिस वर्षपछि पनि संस्करण निस्कनु सामान्य कुरा नभएको बताउनुभयो ।
कार्यक्रममा लेखक गोविन्द गिरी प्रेरणाले १ सय ५७ वटा कथा लेखेर छापिइसकेको बताउँदै २०४० सालमा साझा प्रकाशनबाट प्रकाशित भएको पहिलो कथासङ्ग्रह ‘सुतेको समुद्र’ चालिस वर्षपछि पनि पुनः साझा प्रकाशनबाट प्रकाशित गर्न पाउँदा अझ बढी खुसी लागेको बताउनुभयो ।
कथाकार गिरीका कथा, कविता, उपन्यास, जीवनी तथा नियात्रा समेत गरी ३ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।







प्रतिक्रिया राख्नुहोस्