तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सङ्कल्प यात्राको टोलीले धनकुटामा सात कार्यक्रम गर्ने

धनकुटा । नेकपा एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ को बिहीबार धनकुटा आइपुग्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर १४ गते बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर सुरु गरिएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित सङ्कल्प यात्रा १५ औँ दिनमा धनकुटा आइपुग्न लागेको हो ।

नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले पत्रकार सम्मेलन गरेर यात्राका क्रममा धनकुटामा हुने सबै कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ । सङ्कल्प यात्राको टोलीलाई बिहीबार बिहान लेगुवामा स्वागत गरेर जिल्ला प्रवेश गराइने एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

२८ गते बिहान ९ बजेतिर टोली लेगुवा आइपुग्छ, त्यसपछि लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रम सकेर तेह्रथुमको वसन्तपुर पुगेपछि वृहत् आमसभाको तयारी गरिएको पराजुलीले बताउनु भयो ।

१८ दिनसम्म सञ्चालन हुने सङ्कल्प यात्राको अगुवाइ एमाले अध्यक्ष ओली लगायत वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल लगायतका नेताहरू सहभागी रहनुभएको छ ।

यात्राका क्रममा बिहीबार लेगुवामा एमाले अध्यक्ष ओलीसहितको टोलीले ज्येष्ठ नागरिकहरूसँग भेटघाट र पाख्रिबासमा कृषि अनुसन्धान केन्द्रका वैज्ञानिकहरूसँग कृषिको सम्भावना र चुनौतीका विषयमा अन्तरक्रिया गर्नेछ । अध्यक्ष ओलीले हिलेमा पार्क उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

सोही अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तथा एमाले जिल्ला उपाध्यक्ष चिन्तन तामाङले धनकुटा नगरको कार्यप्रगति र भावी योजनाको विषयमा अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको छ । सिधुवा पुगेर अध्यक्ष ओलीसहितको टोलीले त्यहाँका कृषकसहित कृषि क्षेत्रसम्बद्ध सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

सिधुवाको कार्यक्रम सकेर गएपछि वसन्तपुरमा दिउँसो आमसभा गर्न लागिएको हो । आमसभा धनकुटा, तेह्रथुम र सङ्खुवासभाको संयुक्त आयोजनामा गर्न लागिएको हो । आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सङ्कल्प यात्रा समापन हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button