रास्वपाको बन्द सत्र शुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
बन्द सत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिकलगायत विभिन्न प्रतिवेदन प्रस्तुत गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका रहेको छ ।

जस अन्तर्गत अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने र छलफल हुने कार्यसूची छ ।
त्यसैगरी, पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ ।
पार्टी केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने र त्यसलाई अनुमोदन गर्ने तथा पार्टीको भावी दिशा निर्देश गर्ने अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने र प्रतिवेदनमाथि छलफल र प्रस्तुतीकरणको समय तोकिएको छ ।
बन्दसत्रको अन्तिम चरणमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा एवं आयोजक समितिले निर्वाचनको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यसूची छ ।
त्यसपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र विस्तृत समयतालिका प्रकाशन गर्नेछ र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने रास्वपाले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले व्यवस्थापकीय र प्राविधिक कमजोरीका कारण पूर्वनिर्धारित कार्यसूची प्रभावित भए पनि आज बन्द शत्र टुङ्ग्याउने र भोलीसम्म सबै प्रक्रिया टुङ्ग्याउने गरी काम भइरहेको बताउनुभयो ।
प्रवक्ता झाले महाधिवेशनमा अनुमान गरिएभन्दा करिब पाँच सयको हाराहारीमा प्रतिनिधि संख्या बढेको जानकारी गराउनुभयो ।
यस्तै रास्वपाले नेतृत्व चयनका लागि मतदानमा विद्युतीय उपकरण उपयोग गर्ने भोलि निर्वाचन हुने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्