पोर्चुगलका लागि राजदूतमा प्रस्तावित नेपालको संसदीय सुनुवाई भोलि
काठमाडौँ । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस हुनुभएका सनिल नेपालको सुनुवाई भोलि गर्ने भएको छ ।
सुनुवाई समितिको आज बसेको बैठकले भोली पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्ने, प्रस्तावित राजदूत विरुद्ध उजुरी दिने उजुरी कर्तासँग छलफल गर्ने र राजदूतमा प्रस्तावित नेपालको सुनुवाई गर्ने निर्णय गरेको हो ।
यसअघि यही कात्तिक २३ गते बसेको मन्त्री परिषद्को बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने निर्णय गर्दै राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको थियो । प्रस्तावित राजदूत विरुद्धमा एकवटा उजुरी परेको छ ।
यसैगरी संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरूको उजुरीका विषयमा यही मङ्सिर २७ गते छलफल गर्ने, मङ्सिर २९, पुस १ र २ गते सुनुवाई गर्ने विषयमा छलफल भएको छ ।
न्यायपरिषदको मङ्सिर ५ गतेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध १० वटा उजुरीहरू परेको छ । । ती मध्ये प्रस्तावित न्यायाधीश सारंगा सुवेदी विरुद्ध ६ वटा उजुरी परेको छ भने टेकप्रसाद ढुङ्गाना विरुद्ध ३ वटा र अब्दुल अजिज मुसलमान विरुद्ध एकवटा उजुरी परेको छ ।








प्रतिक्रिया राख्नुहोस्