तपाईँ सुन्दै हुनुहुन्छः

एभोकाडाे खेतीमा रोग–किराकाे समस्या 

धनकुटा । पछिल्लो समय धनकुटामा एभोकाडाे फल निकै लोकप्रिय छ । धनकुटा नगरपालिका क्षेत्र भित्रका अधिकांश कृषकले यसको खेती सुरु गरेका छन् । भर्खरै मात्रै व्यवसायीक हुँदै गएको यो फलमा विभिन्न रोगका किराको कारण समस्या देखिन थालेपछि भने कृषक चिन्तित बनेका छन् । 

गत वर्षसम्मको तथ्याङ्क हेर्दा धनकुटामा करिब १२ हजार ७८ रोपनी क्षेत्रफलमा एभोकाडाेको खेती हुँदै आएको छ । 

२०७५ सालसम्म करिब ४ हजार ४० रोपनी क्षेत्रफलमा खेती हुने गरेको एभोकाडाे गत वर्षसम्म आउँदा २ सय प्रतिशतले बढेको हो । सुन्तला जुनार लगायतका खेती गदै आएका कृषक समस्या देखिन थालेपछि एभोकाडो खेतीतर्फ लागेका थिए । अझ धनकुटा नगरपालिकाले एभोकाडोको राजधानी नै घोषणा गरेपछि किसान एभोकाडाे खेतीतर्फ आकर्षित भएका थिए । एभोकाडोको खेती बढे पनि अचेल रोग किराको प्रकोपबाट बोटमा फल नअडिने, बोट नै सुक्ने लगायतका समस्या देखिन थालेका छन् । फलले आम्दानी दिने बेलामा समस्या देखिन थालेपछि चिन्ता थपेको  कृषक गोविन्द श्रेष्ठले बताउनु भयो । 

धनकुटामा उत्पादित  एभोकाडोको फल तथा बिरुवा देशका विभिन्न स्थानमा पुग्ने गरेको छ । कृषकलाई एभोकाडोको बारेमा प्राविधिक ज्ञान नहुनु, बगानको उचित व्यवस्थापन नहुँदा समस्या आएको कृषि प्राविधिकहरूको भनाई छ । एभोकाडाे खेतीसँगै समस्या आउने भएकाले स्थानीय सरकारले नै चासो दिनुपर्ने कृषि अभियन्ता जीवन राईले बताउनु भयो । 

धनकुटामा अहिले ४ हजार ९ सय परिवारले गरेको एभोकाडो खेतीबाट वार्षिक करिब दुई लाख ३९ हजार ४ सय किलो एभोकाडो उत्पादन हुँदै आएको छ । रोग किरा प्रकोपको समस्या समाधान नभए एभोकाडाे उत्पादन घट्नेमा किसान चिन्तित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button