तपाईँ सुन्दै हुनुहुन्छः

दोलखा सुन प्रकरण : सरकारी वकिल कार्यालयले अदालतमा बुझायो मिसिल

दोलखा । जिल्ला सरकारी वकिलको कार्यालयले दोलखा सुन प्रकरणको अनुसन्धान पुरा गरी आज अदालतमा मिसिल बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले सुन प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान पुरा गरी मङ्सिर ५ गते बुझाएको प्रतिवेदन उपर अध्ययन गरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत दोलखामा मिसिल पेश गरेको हो । दोलखाबाट बरामद भएको ११ किलो र बरामद नभएको तर तस्करी गरेको पुष्टि भएको २२ किलो सुन प्रकरणको प्रतिवेदन अध्ययन गरी फाइल आज अदालतमा पेश गरिएको जिल्ला न्यायधिवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो । 

दोलखाबाट ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरू विरुद्ध चार वटा ऐन अनुसार कारबाही र जरिवानाको माग दाबी गरिएको छ । सुन चोरी पैठारी भन्सार ऐन २०६४ को दफा ५७ (१) बमोजिम कसुर, सङ्गठित अपराध निवारण ऐन २०७० को दफा (२) को घ, दफा ३ को उपदफा १, २, ३ र खण्ड ‘क’ र सोही ऐनको दफा ५ बमोजिमको कसुरमा मागदावी गरिएको छ । यस्तै, राष्ट्र बैङ्क ऐन २०५८ को दफा ९५ (१) बमोजिम कसुर र एकिकृत कसुरतर्फ मुलुकी अपराध संहिता २०७४ को दफा ४३ (१) बमोजिमको सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । 

भन्सार ऐन अनुसार ३ वर्षदेखि ५ वर्षसम्म कैद र बिगो जफत गरी बिगो बमोजिम जरिवाना,सङ्गठित अपराध ऐन अनुसार ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना,राष्ट्र बैङ्क ऐन अनुसार बिगो जफत गरी बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद वा दुवै मागदावी गरिएको छ ।

यस्तै, एकिकृत कसुर अनुसार प्रतिवादीलाई जति सजाय हुन्छ त्यसमा ५० प्रतिशत थप सजाय मागदावी गरिएको छ भने कसुरजन्य साझा सम्पत्ति तथा सामान रोक्का नियन्त्रण जफत २०७० बमोजिम प्रतिवादीबाट बरामद भएका सम्पुर्ण सामान दाबी गरिएको छ । 

सुन तस्करी सम्बन्धी मुद्दाको तत्कालै थुनछेक बहस हुने र बहस टुङ्गिन करिब एक साता समय लाग्ने जिल्ला अदालत दोलखाले जनाएको छ । दोलखाबाट गत असोजमा ११ किलो सुन बरामद भएपछि पक्राउ परेकाहरूमाथि गरिएको अनुसन्धानका क्रममा ३३ किलो सुन जिल्लाबाट तस्करी भएको पुष्टि भएको थियो । ३३ किलो सुन तस्करी प्रकरणमा २७ जनाको संलग्नता पुष्टि भएको छ ।  त्यसमध्ये ११ किलो सुन तस्करीमा संलग्न १२ जना र बाँकी २२ किलो सुन तस्करी प्रकरणमा संलग्न ३ जना मात्रै पक्राउ परेका छन् । फरार रहेका १२ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

दोलखाको लामावगर नाका हुँदै ३३ किलो सुन भित्रिएको र सो वापतको रकम डलर र क्रिप्टो करेन्सि मार्फत भुक्तानी भएको अनुसन्धानबाट खुलेको छ । 

सुन तस्करीमा संलग्न व्यक्तिहरूको बयान र प्रहरी अनुसन्धानबाट लामावगरको फलाक नाका हुँदै ६ पटकमा ३३ किलो सुन भित्रिएको खुलेको थियो । सुन तस्करहरूको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टो करेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी २ अर्ब ९१ करोड ४८ लाख ३२ हजार ५ सय ९३ युनिट युएसडिटी भुक्तानी गरेको देखिएको छ । 

प्रहरीले लामावगरको फलाक नाकाबाट भित्रिएको ३३ किलो सुन मध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानको क्रममा ५ सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो । सो सुनको मूल्य १० करोड ६८ लाख ६८ हजार ७ सय ६१ रुपैयाँ बराबरको रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिहरूबाट १८ लाख ३३ हजार ५ सय नगद बरामद गरेको थियो भने उनीहरूको नाममा विभिन्न बैङ्कमा रहेको ३१ लाख ७४ हजार ६ सय ६५ रुपैयाँ रोक्का राखेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button