तपाईँ सुन्दै हुनुहुन्छः

हङ्गेरीका लागि गैरआवासीय नेपाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

हङ्गेरीका राष्ट्रपतिको कार्यालय सान्दोर प्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा राजदूत खड्काले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेक्रममा राजदूत खड्काले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट हङ्गेरीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै हङ्गेरीका जनताको निरन्तर प्रगति एवं शान्तिको कामना गर्नुभएको थियो । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँले हङ्गेरीका जनताको समुन्नतिको कामना गर्नुभयो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button