मधेशी समुदायमा भैया दुईजमा भुर्की पूजा

बाँके । पश्चिम नेपालका मधेशी समुदायमा तिहारको मुख्य दिन आज यम द्वितीय अर्थात् भैया दुईजमा भुर्की पुजन गरी आ–आफ्नो दाजु भाइलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन् ।
घरको आगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, बन जगंलको चित्र बनाएर जङ्गलमा पाइने कुश लगायत विभिन्न काँडाहरू राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ ।
उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाएर पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिलाहरू एकजुट भई सामूहिक रूपमा भुर्की पुजन गर्दछन् । त्यस क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तीका लागि विभिन्न कथा, कहानी सुनाउने गरिएको बाँकेकि अगुवा महिला रेखादेवी शर्माले बताउनुभयो ।
भुर्की पूजनका क्रममा दिदी बहिनीहरूले बिहानैदेखि व्रत बसेर आ—आफ्नो दाजु भाइको सुख, शान्ति, उन्नति, सुस्वास्थ्य, प्रगति लगायतको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधि साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो ।
आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजु भाइहरूलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ । आज भाइटिकाको मुख्य साइतमा भुर्की पूजनको कार्य गरिएको छ ।
दाजु भाइको सुख, शान्ति, उन्नति, र दीर्घायुका लागि भुर्की पूजा गरी टिका लगाउने गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्