तिहारमा बल्यो फलाटे र लालचेमा बिजुली

भोजपुर । बिद्युतको पहुँचबाट बञ्चित भोजपुरको हतुवागढी गाउँपालिकाका फलाटे र लालटे क्षेत्रमा बिद्युत् सुविधा पुगेपछि स्थानीयमा उत्साह थपिएको छ । नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका वडा नम्बर एकको फलाटे र दुई लालचे क्षेत्रमा बिद्युतीकरण गरेपछि स्थानीय घरमा बिजुली बाल्न पाएकोमा उत्साही बनेको प्राधिकरणका प्राविधिक कर्मचारी काजीमान राईले बताउनुभयो ।
बिद्युतीकरण भएका वडाहरूमा करिब एक सय घरधुरीमा बिद्युतको पहुँच पुगेको छ भने ३५ घरधुरीमा बिद्युत् मिटर समेत जडान भई बिजुली बलेको छ । घरमा बिजुली बाल्न पाएकोमा खुशी हुँदै फलाटेका भिम परियारले भन्नुभयो, “बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुशी छौ ।” परियार मात्र होइन गाउँका अन्य स्थानीयहरू समेत खुशी बन्नु भएको छ ।
भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको दुई टोलमा बिद्युत् सेवा पुगेसँगै सो क्षेत्रका करिब एक सय घरधुरीले बिद्युत् सेवा उपयोग गर्न पाउने नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख राम बाबु चौधरीले बताउनुभयो । केन्द्र प्रमुख चौधरीले भन्नुभयो, “गाउँपालिका क्षेत्रमा बिद्युतीकरण गर्ने कार्य अन्तर्गत ती दुई वडामा पनि बिद्युतीकरण कार्य गरिएको हो ।” तिहारको मुखमा घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ ।
वर्षौँ देखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पुरा भएकोमा स्थानीयहरूलाई खुशी लागेको रामबहादुर सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ बस्तीमा पुगेको बिजुलीले चमक थपेको छ । गाउँमा बिद्युतीकरण हुनु पनि विकासको एउटा फड्को हो ।”
गाउँमा बिद्युतीकरण भए पछि बाँकी रहेका अन्य घरहरूमा पनि बिद्युत् मिटर उपलब्ध गराइने नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।
भोजपुरमा सात गाउँपालिका र दुई वटा गाउँपालिका छन् । करिब ८१ प्रतिशत बिद्युतीकरण भोजपुर जिल्लामा भई सकेको छ भने बिद्युतीकरणका लागि धेरै बाँकी रहेको आमचोक गाउँपालिका र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण बिद्युतीकरणका लागि टेण्डर मार्फत कार्य भई रहेको नेपाल बिद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।
भोजपुरमा हाल राष्ट्रिय प्रसारण केन्द्रबाट २४ हजार घरधुरीले बिद्युत् सेवा उपयोग गरि रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्