अस्पतालबाट मृतक श्रीदेवीका श्रीमान् बेपत्ता
मुगु । मुगुस्थित छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा गत ८ गते बुधबार भएको सामूहिक हत्या प्रकरण झन जटिल बन्दै गएको छ ।
सोमबार हत्या गरिएका आमा र ३ छोराछोरीको लास परिक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म लास नबुझ्ने आफन्तको अडानबिच बिहीबार जिल्ला अस्पतालमा उपचारत मृतक श्रीदेवीका श्रीमान् दिपक बोहोरा बेपत्ता भएपछि सामूहिक हत्या अनुसन्धान झन् जटिल मोडमा पुगेको हो ।
घरका चार चार जना सदस्यहरूको सामूहिक हत्या भएपछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दिपक नेपाल फर्केका थिए । मानसिक रुपमा विक्षिप्त भएर कुनै अप्रिय घटना नघटाओस् र होस सन्तुलनमा रहिरहोस् भनेर दिपकलाइ प्रहरीले निगरानी गर्दै कान्छा ससुरा वडा न ६ का वडा अध्यक्ष खेम बहादुर रावलको जिम्मा लगाएको थियो ।
हालसम्म अस्पतालबाट बेपत्ता भएका दिपकको कुनै पत्तो नलागेको कर्णाली प्रदेश प्रहरी कार्यालय, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) तथा सूचना अधिकारी गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो ।
पोस्टमार्टम गरेर अस्पतालमा राखिएका शव श्रीमान् दिपकलाइ बुझाएर दाहसंस्कार गर्ने तयारी गर्दै गर्दा उनी बेपत्ता भएपछि अन्यौल सृजना भएको छ ।
गत ८ गते श्रीदेवी बोहोरा (२८ वर्ष), छोरा मनोज बोहोरा (११ वर्ष), छोरी अप्सरा बोहोरा (८ वर्ष) र छोरा रहर बोहोरा (८महिने) को हत्या भएको अनुमान प्रहरीले गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्