महासचिव गुटेरेसको लुम्बिनी भ्रमण फलदायी बनाउन बिकास कोषको तयारी

भैरहवा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस भोली मङ्गलवार बिहान लुम्बिनी आउने कार्यक्रम तयारी पुरा भएको छ । महासचिव गुटेरेस मङ्गलवार बिहान साढे ८ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम तय भएको लुम्बिनी बिकास कोषले जनाएको छ ।
लुम्बिनी विकास कोषले महासचिव गुटेरेस हिँड्ने सडकलाई कालोपत्रे गर्नेदेखि सरसफाइलाई विशेष ध्यान दिएको छ । विश्वमा शान्ति स्थापनामा विशेष भूमिका खेल्दै आएको विश्व संस्था संयुक्त राष्ट्र संघका महासचिवले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दाहरू पनि उत्साहित बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित लुम्बिनी आउन लागेका महासचिव गुटेरेसको स्वागतका लागि सरसफाई, सौन्दयीकरणदेखि सुरक्षासम्मको तयारी थालिएको हो । महासचिव गुटेरेसको भ्रमणलाई स्मरणीय बनाउन लुम्बिनी विकास कोषसहित रुपन्देहीका सुरक्षा निकाय, स्थानीय प्रशासन तथा स्थानीय तहका पदाधिकारीहरूले आपसी समन्वयमा तयारी गरिरहेका छन् । महासचिव गुटेरेसको स्वागतका लागि सरसफाईदेखि सुरक्षासम्मको तयारी गरिएको छ ।
लुम्बिनी विकास कोषले महासचिव गुटेरेसले प्रयोग गर्ने सडकलाई कालोपत्रे गरिरहेको छ । लुम्बिनीको ४ नम्बर गेटदेखि शान्ति दीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिएको छ भने अन्य बाटोका खाल्टाखुल्टी पुरिएको छ ।
महासचिव गुटेरेसको भ्रमणलाई सफल बनाउन सम्पूर्ण तयारी गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले जानकारी दिनुभयो । उपाध्यक्ष लामाले महासचिव गुटेरेसको स्वागत र सम्मानमा कुनै कमी नआउने बताउनुभयो । ‘संयुक्त राष्ट्र संघका महासचिव नियुक्त भएपछि सबै महासचिव लुम्बिनी आउने प्रचलन रहँदै आएको छ, तर नेपालका प्रधानमन्त्रीले लुम्बिनीमा आएर महासचिवलाई स्वागत गर्न लागेको यो पहिलो हो, त्यसैले पनि यो भ्रमणलाई विशेष महत्त्व दिएर हामीले हाम्रो तर्फबाट सबै तयारी गरिरहेका छौँ, ’उपाध्यक्ष लामाले भन्नुभयो ।
महासचिवको सुरक्षा का लागि सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीतिहरू तय गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्ला प्रमुखसहित कोषका पदाधिकारीको उपस्थितिमा सुरक्षा रणनीति बनाइएको हो ।
महासचिव गुटेरेसले करिब डेढ घण्टा लुम्बिनीमा बिताउने कार्यक्रम तय गरिएको छ । डेढ घण्टाको अवधिमा उनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा विशेष पूजाआजा गर्नुका साथै अशोक स्तम्भ अघिबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महासचिव गुटेरेसलाई लुम्बिनी विकास गुरुयोजना, उत्खनन, अन्वेषण, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्त्विक महत्वका विषयमा वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले जानकारी दिनुहुने कार्यक्रम तय भएको लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।
गुटेरेस लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसङ्घका छैटौँ महासचिव हुनुहुन्छ । सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको थियो । ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ । यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन । तर, पनि उहाँ सहित गुटेरेससम्म आइपुग्दा ६ जना महासचिवले बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्नुहुने छ । रासस







प्रतिक्रिया राख्नुहोस्