मुगु सामूहिक हत्या अपडेट : अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन
मुगु गमगढी । मुगु सामूहिक हत्या प्रकरण बारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली शुक्रबार बेलुका घटना स्थलतर्फ हिँडेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भिम ढकालले दिनु भएको जानकारी अनुसार सामूहिक हत्या काण्डको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट २ टोली मुगुतर्फ हिँडेको छ ।
उहाँका अनुसार सुर्खेतबाट सिआइवी जस्तै विशेष अनुसन्धान गर्ने वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा ५ सदस्सीय प्रहरी टोली र अर्को डक टोली अनुसन्धान गर्न मुगु हिँडेको हो ।
टोली शुक्रबार राती कालिकोट बसेर शनिवार बिहानै मुगु पुगी हत्या बारे विशेष अनुसन्धान थाल्ने डिआइजी ढकालले बताउनुभयो ।
मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँकी २८ वर्षिया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा ८ महिने छोरा रहर बोहोरा र ८ वर्षिया छोरी अप्सरा बोहराको बिहीबार साँझ हत्या भएको प्रहरीले बताएको छ ।
शुक्रवार बिहान ९ बजे हत्या बारे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ विरेन्द्र थापाको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेको थियो ।
मृतक आमा छोरा छोरीसहित ७ गते बिहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राती हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
‘९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थियौँ । बिहानै सिमि टिप्न खेत गरा तिर गएका होलान् सोचेर कसैले ख्यालै गरेनौँ । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि फेरि माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि शुक्रबार बिहान १० बजे तिर ढोकाको ताला तोडी भित्र हेर्दा चारै जनाको घाँटी रेटी बीभत्स हत्या भएको देखे’ मृतक श्रीदेवीकी माइजू रेसा बोहोराले बताउनु भयो ।
शुक्रबार दिनभरी जसो प्रहरीले गाउँलेहरूबाट प्रारम्भिक सूचना लिने काम गरेको छ भने घटना स्थललाई शिल गरि पहरा दिइरहेको छ । हत्यारा र घटना बारे अनुसन्धान गर्न माथिल्लो निकायलाई जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी गराए बमोजिम कर्णाली प्रदेश प्रहरी कार्यालयबाट २ र जुम्लाबाट १ प्रहरी टोली मुगु हिँडेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्