समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्ने अध्यक्ष ओलीको अठोट
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताउनुभएको छ ।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आई क्याप) को ४० औँ स्थायी कमिटी तथा एसिया–युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठकमा अध्यक्ष ओलीले राजनीतिको आदर्श र राजनीतिक दलहरू साँघुरो समूह–सोचबाट निर्देशित हुँदा मानवता प्रताडित हुने भएकाले त्यस साँघुरोपनाबाट बाहिर निस्कनुपर्ने बताउनुभयो ।
अध्यक्षले ओलीले हरेक नागरिकका लागि समान अवसर, न्यायमा पहुँच सुनिश्चित गर्ने सपनालाई कार्यरुप प्रदान गर्न राजनीतिक दलहरू मुख्य साधन हुने भएकाले राजनीतिक दलको भूमिकालाई कमजोर ठान्न नहुने विचार व्यक्त गर्नुभयो ।
भोलि सम्पन्न हुने उक्त बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबिच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सह अध्यक्ष एवं आइ क्यापका स्थायी कमिटी सदस्य राजन भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डस् लगायत २६ मुलुकका राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० जना भन्दा बढीको सहभागिता छ ।







प्रतिक्रिया राख्नुहोस्