प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले दशै, तिहार, छठ लगायतका चाडबाडको समयमा उपभोग्य बस्तुमा भइरहेको कालोबजारी र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको विशेष र शुन्य दुवै समयमा बोल्ने सांसदहरुले सांसदहरुले चाडबाडको समयमा यात्रालाई सहज बनाइनु पर्ने, अनावश्यक रुपमा बढाइने भाडादर नियन्त्रण गर्नुपर्ने, चाडबाडका समयमा अनुगमन र निगरानी बढाउनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरूले इजरायल घटनाबाट मृत्यु भएका र जोखिममा परेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन माग गर्नुभयो ।
उहाँहरूले इजरायल घटनाबाट सिकेर सरकारले नेपालीहरूलाई सुरक्षित बनाउन, सुरक्षित रुपमा नेपालीलाई फिर्ता ल्याउन र नेपालमा नै गुणस्तरीय प्राविधिक शिक्षा दिने विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
स्थानीय तहको कर्मचारीको सेवा र सुविधा संघ र प्रदेशका कर्मचारी सरह हुनुपर्ने, उनीहरूको आन्दोलन र माग प्रति सरकार गम्भीर बन्नु पर्नेमा सांसदहरुले जोड समेत दिनुभयो ।
यसैगरी, बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन् ।
सभापति लामिछानेले भारतका प्रधानमन्त्री मोदीले भ्रमण गरेको क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्