तपाईँ सुन्दै हुनुहुन्छः

विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश

काठमाडौँ । विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० सभा समक्ष पेश गर्नुभयो ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले कानुन निर्माणमा एकरूपता ल्याउन र सरोकारवालाको अपनत्वसहित विधिको शासनलाई सुदृढ गर्न विधेयक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले सांसदहरुले दिइएका सुझाव र संशोधन सहित सदनमा हुने छलफलले विधेयकलाई थप समृद्ध बनाउने बताउनुभयो ।

यसअघि बैठकमा सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको विशेष र शून्य समयमा सांसद्हरुले चाडपर्व नजिकिँदै गर्दा हुने गरेको कालोबजारी र महँगी नियन्त्रण गर्नुपर्ने, बझाङमा गएको भूकम्पबाट पीडित नागरिकलाई राहत तथा क्षतिपूर्ति दिलाउनुपर्ने, कानूनी, नीतिगत लगायत सबै प्रकारका भ्रष्टाचारको अन्त्य गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले संसद्मा विधेयक प्रस्तुत गर्दा विचार गर्नुपर्ने, सजाय भोगिरहेका कैदीको आममाफी दिँदा अपराधको प्रकृति हेर्नुपर्ने, बाँकेमा भएको घटनाको सत्य तथ्य छानबिन गरी साम्प्रदायिक सहिष्णुता कायम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक असोज २३ गते मङ्गलवार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button