तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी समायोजन छिट्टै हुन्छ : गृहमन्त्री श्रेष्ठ

महोत्तरी । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको उपस्थितिमा मधेस प्रदेशको सुरक्षा चुनौतीबारे छलफल भएको छ ।

महोत्तरीको बर्दियाबासमा भएको छलफलमा गृहमन्त्री श्रेष्ठसहित मधेस प्रदेशका आठै वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरू सहभागी रहनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै गृहमन्त्री श्रेष्ठले प्रहरी समायोजन बिनाको सङ्घीयता निष्प्रभावी हुने बताउनुभयो ।

बुधवार महोत्तरीको बर्दिबासमा आयोजित समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सङ्घीयतामा प्रहरी समायोजन अनिवार्य सर्त भएको बताउनु भयो।

‘प्रहरी समायोजन र सङ्घीयता अभिन्न अङ्गको प्रक्रिया हो । प्रहरी समायोजनबिना सङ्घीयता कामै छैन । सरकार समायोजनको पक्षमा छ । यसको गृहकार्य सरकारले गरिरहेको छ’, उहाँले बताउनुभयो ।

पारित भएको प्रहरी ऐनमा समायोजन सम्बन्धी समस्या भए प्रहरी महानिरीक्षक, सङ्घीय गृह सचिव, सबै प्रदेशका गृहमन्त्री बसेर छलफल गर्न सकिने उहाँको भनाइ थियो ।उहाँले सङ्घीयतालाई निष्क्रिय बनाउन नदिन प्रहरी समायोजन कुनै पनि हालतमा कार्यान्वयन गरेर छाड्ने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले राष्ट्रिय सुरक्षालाई बलियो बनाएर भौगोलिक एकता, राष्ट्रिय अखण्डता र व्यवस्थामाथि भएको आक्रमणबाट बचाउन सामाजिक सद्भाव आवश्यक भएको बताउनुभयो । पछिल्लो समय सामाजिक र धार्मिक द्वन्द्व भड्काउन उद्धत रहेको भन्दै त्यसतर्फ चनाखो रहन श्रेष्ठले आग्रह गर्नुभयो ।

यता मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेश दिनानुदिन लागुऔषधको केन्द्र विन्दु बन्दै गइरहेको उपप्रधानमन्त्री श्रेष्ठलाई अवगत गराउनुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका पदाधिकारीहरू, पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीहरूको सहभागिता रहनु भएको प्रदेश स्तरीय समीक्षामा विभिन्न धर्मका धर्मगुरुहरूले अहिले देखिएको समस्या र समाधानको विषयमा ध्यानाकर्षण गर्नु भएको थियो ।

प्रदेश स्तरीय सुरक्षा बैठक तथा बृहत् समीक्षामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका ओमप्रकाश जोशीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button