तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक शिक्षाको गुणस्तरमा जोड

काठमाडौँ । संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले सरकारले पर्याप्त गृहकार्य नगरी विद्यालय शिक्षा विधेयक ल्याएकाले शिक्षकहरू आन्दोलनमा आउनुपरेको बताउँदै शिक्षकहरूले उठाएका माग विधेयकमा समेट्न समिति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सभापति जोशीले विधेयकमाथि विज्ञाहरुसहित शिक्षक सङ्घसंस्थाका प्रतिनिधिसँग विस्तृत छलफल गरिने बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, हिसानका अध्यक्ष रमेश सिलवाल, शिक्षाविद् वासुदेव काफ्ले लगायतले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले सरकारले सार्वजनिक शिक्षाको रूपान्तरणलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

वार्षिकोत्सवका अवसरमा शिक्षा पत्रकार समाजले रु २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार नागरिक दैनिकमा कार्यरत पत्रकार रुवी रौनियारलाई प्रदान गरेको छ ।

यसै अवसरमा समाजले काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डीन डा बालचन्द्र लुइँटेल, केन्द्रीय बहिरा क्याम्पसका प्रमुख ऋषिराम देवकोटा, नुवाकोटको पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने, जापानको एभरेष्ट इन्टरनेशनल स्कुल, बाल विकास प्रशिक्षक एवं अङ्कुर प्रि–स्कुल, काठमाडौँकी प्रिन्सिपल सिर्जना पोखरेल र सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापालाई सम्मान गरेको छ ।

समाजले कैलालीको न्यू स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल परशुराम शर्मा भण्डारी, सप्तरीको भवानीप्रसाद सकल प्रसाद रामप्रसाद जनता माविका लेखापाल भगवती चौधरी, संयुक्त अधिराज्य बेलायतको पहार ट्रष्ट नेपालका निर्देशक एलन स्वीट म्यान र धनुषाको आसमान नेपालका कार्यक्रम निर्देशक दिनेश्वर साहलाई पनि शिक्षा र रुपान्तरणका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button