कोहलपुर-नेपालगञ्ज १३२ केभी प्रसारण लाइनको शिलान्यास

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको छ । दुई वर्षमा सम्पन्न गरेर दुई सय मेगावाट क्षमताको प्रसारण लाइन, सबस्टेशन १३२–३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ ।
कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्नुभयो । मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताउनुभयो ।
मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताउनुभयो । कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका उप(कार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका–५ का वडाध्यक्ष टीकाराम यादव लगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । प्रसारण लाइन तथा सबस्टेशनका लागि चार बिघा ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ ।







प्रतिक्रिया राख्नुहोस्