शिक्षकका मागहरूप्रति सधैँ सकारात्मक छु : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज सम्पन्न बैठकले पार्टीको महासमिति बैठकलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न ३ वटा समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै पार्टी प्रचार विमाग प्रमुख मीन विश्वकर्माले केन्द्रिय समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महासमिति मूल आयोजक समिति गठन गरेको बताउनुभयो ।
यस्तै बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गर्नुसँगै महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सांगठानिक प्रतिवेदन तयारी समिति र अर्का महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समसामयिक प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको प्रचार विमाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।
केन्द्रिय समिति बैठकले विपी साहित्य महोत्सव र पार्टीको आन्तरिक अभियान प्रभावकारी भएको ठहर गर्दै चाडबाडको समयमा कालोबजारी नियन्त्रण गरी जनतालाई महँगीको मार बाट राहत दिन सरकारको ध्यानाकर्षण गराएको पनि प्रचार विमाग प्रमुख मिन विश्वकर्माले बताउनुभयो ।
बैठकले राष्ट्रिय राजनीतिक विषयमा पार्टीको दृष्टिकोण र जनताको पक्षमा काम गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकले केही दिनअघि राजधानीमा पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै भएको आक्रमणको निन्दा गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
यसअघि पार्टी केन्द्रिय समिति बैठकमा बोल्नुहुँदै कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयकका सम्बन्धमा शिक्षक महासङ्घसँग भएको सहमतिबारे जानकारी गराउनुभएको थियो ।
पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा कार्यवाहक प्रधानमन्त्री खड्काले संवैधानिक व्यवस्था र मुलुकको आर्थिक अवस्था अनुकूल शिक्षकका माग पुरा गर्न सकिने भन्ने आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम सिर्जना गरिएको बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकका मागहरूप्रति आफु सधैँ सकारात्मक रहेको भन्दै राहत शिक्षक र शिक्षकको पेन्सन लगायतका विषयमा सम्भव भए सम्मका माग सम्बोधन गर्न तयार रहेको पनि बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षक महासङ्घसँग भएको सहमति, राहत शिक्षक र पेन्सन लगायतका विषयमा अर्थ मन्त्रालय र सरोकारवाला निकायको राय सुझावका आधारमा विधेयकमा आवश्यक संशोधन गर्न सकिने बताउनुभयो ।
यस्तै बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको व्यवस्था परिवर्तनको अपनत्व लिन कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
काँग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा महामन्त्री थापाले नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक बनाउन नेपाली काँग्रेसले त्यतिबेला एकमतले निर्णय गरेको भन्दै अरू कसैले व्यवस्था परिवर्तनको भारी बोकाइदिएको भन्नुको कुनै औचित्य नरहेको बताउनुभयो ।
महामन्त्री थापाले बरु सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक नीति निर्माण गरी शासन व्यवस्थालाई जनमुखी बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
बैठकमा अर्का महामन्त्री विश्व प्रकाश शर्माले आरोप प्रत्यारोप भन्दा पनि विद्यमान समस्याको सबै मिलेर निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री शर्माले मुलुकलाई समृद्धि र सुशासनको बाटोमा लैजानु आजको आवश्यकता भएको पनि बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्