इलामको पाथीभरा मन्दिरको भेटी र सहयोग रकम ‘हिनामिना’
इलाम । इलामको रोङ गाउँपालिकामा रहेको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी र दाताको सहयोग रकम ‘हिनामिना’ भएको छ।
जिल्ला प्रशासन कार्यालयले गरेको छानबिनसँगै गाउँपालिकाले गरेको अध्ययनमा ८८ लाख ८३ हजार एक सय २४ रुपैयाँको हिसाबकिताब नमिलेको देखिएको हो।
पालिकाका अनुसार आर्थिक वर्ष २०७५ असोज २२ देखि ०७९ माघसम्म कुल तीन करोड १४ लाख ६२ हजार रुपैयाँ आम्दानी भएकामा दुई करोड २० लाख ९१ हजार खर्च र बैङ्क मौज्दात १७ लाख ६६ हजार रुपैयाँ छ। बाँकी रकम ८८ लाख ८३ हजारको दायित्व तत्कालीन समितिले नै बेहोर्नुपर्ने अवस्था देखिएको पालिकाको तर्फबाट अध्ययनमा संलग्न चार्टर्ड एकाउन्टेन्ट प्रज्ज्वल अधिकारीले बताए।
सार्वजनिक निकाय भए पनि मन्दिरले योजना छनोट र सामग्री खरिदमा कानुनी प्रक्रिया नपुर्याइ काम गरेको देखिएको अधिकारीको भनाइ छ। उनले प्रशासनमा बुझाइएको प्रतिवेदनमा हिसाब–किताबको अङ्क गाउँपालिकाको अध्ययन प्रतिवेदनसँग मिल्ने भए पनि कतिपय शब्दावली र लेखाइको भाषा चाहिँ फरक रहेको बताए।
मन्दिरको रकममा अनियमितता भएको विषयमा पालिका र प्रशासनबिच सुरुदेखि नै किचलो छ। २५ दिनको म्याद दिएर जेठ २३ मा गठन भएको सहायक सिडिओ नेतृत्वको छानबिन समितिले करिब तीन महिना लगाएर प्रतिवेदन तयार गरी सिडिओलाई बुझाएको छ।
पालिकाले गत फागुनदेखि आफू मातहतको पाथीभरा व्यवस्थापन समिति गठन गरेको छ। समितिले फागुनदेखि असोज ३ गतेसम्मको आठ महिनामा एक करोड छ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको समिति अध्यक्ष दिलीप राईले बताए। उनका अनुसार यो अवधिमा ९७ लाख ५६ हजार रुपैयाँ नगद र आठ लाख ५४ हजार रुपैयाँको जिन्सी सामान अनुमानित आम्दानी भएको हो। नगद रसिदबाट १६ लाख ८९ हजार, दान पेटिकाबाट तीन लाख ९२ हजार तीन सय ७७, लिलाम विक्रीबाट ११ हजार दुई सय २० र सिंहदेवी शिलाबाट चार लाख १० हजार रुपैयाँ आम्दानी भएको समितिले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्