तपाईँ सुन्दै हुनुहुन्छः

मौलिक संस्कृति र परम्परा हराउँदै गएर भड्किलो बनेको तिज

बाँके । हिन्दु धर्मावलम्बी महिला दिदिबहिनीहरुले दुःख सुख अभिव्यक्त गरेर मनाउने हरितालिका तिज हिजो आज भड्किलो बन्दै गएको छ।

सामाजिकीकरण नाम दिएर महिनौँदेखि दर खाने संस्कार विकसित हुँदै गएको छ। जसले गर्दा हुनेखाने परिवार र हुँदा खाने परिवारबीच बिमेल बढ्न थालेका छन्। तिज, तिज जस्तो नभएर भोज भतेर जस्तो हुँदै गएको छ। 

कोहलपुर १२ चपरगौडी बस्ने ७० वर्षीय भवानी पौडेलले आजभोलिको तिज देखेर निकै उदेक लाग्ने गरेको बताउनुहुन्छ। उहाँले आफ्नो पालामा हिन्दु महिला दिदिबहिनीहरुले मनाउने हरितालिका तिज माइती गाउँका साथिसङ्गी र आमा दिदिबहिनिसङ्ग आफ्ना वर्षभरिका दुःख पोख्ने अनि सुख साट्ने गरेर मनाउने गरेको स्मरण गर्नुहुन्छ।

तिजको अघिल्लो दिन घिउ हालेर अनदीको लट्टे अनदी नभए घिउ हालेर पकाएको भात , तामाको तरकारी अनि काँक्रोको अचार राती अबेर सम्म गीत गाउँदै नाच्दै खाने गरिन्थ्यो तर हिजो आज आधुनिकताको नाममा तिज एक महिना अगाडिदेखि मौलिक परम्परालाई बिर्सँदै भड्किलो बनाइएको छ । तिजको दर महिनै भर खाने गर्दा हुँदा खाने विपन्न परिवारहरूको लागि चाडपर्व ग्रहदशा जस्तै भएको पौडेल बताउनु हुन्छ।

तिजको अघिल्लो दिन तिउरिको पात पिसेर हातभरि, खुट्टा भरी दल्ने चलन हुन्थ्यो । राम्रो देखिन भन्दा पनि बर्खा भरी खेत रोपेर गोडेका हात खुट्टा हिलोले खाएका हुन्थे ती हातखुट्टालाई शीतल होस भनेर तिउरो पिसेर लगाउने गरेको हिजो आज जस्तो मेहन्दीको चलन नभएको उहाँको अनुभव छ । 

उहाँले नागपन्चमी बाट चाडपर्वलाई स्वागत गरेपनि जनैपूणिर्माबाट दिनभर काम गरेर थाकेका दिदिबहिनीहरु गाउँमा जम्मा भएर गीत मार्फत वेदना पोख्ने गर्थे, अनि कहिले कसको घरमा कहिले, कसको घरमा पालो लगाएर नाच्ने गाउने गर्थे उबेला अहिले जस्तो डेग नभएको र तिज भड्किलो नभएको नाच्ने गाउने अगाडिबाट गरेनी दर भने दर खाने दिनमा मात्र खाने गरेको सुनाउनुहुन्छ।

यस्तै, कोहलपुर १२ कै तारा बगालेले अहिलेको तिज आफ्नी आमाहरूको समयको जस्तो नभएको बताउनुहुन्छ। हुने खानेले पार्टिप्यालेस , होटेल रिसोर्ट बुक गरेर धेरै खर्च गर्ने भड्किला गीत बजाउने महँगा कपडा गरगहना प्रदर्शन जस्ता कार्यले मौलिक तिजलाई बिर्साउँदै गएको बताउनुहुन्छ। पहिले पहिले तिजको नाचगान गर्न चार गाउँ पारिसम्म पुग्ने गरेको तर आजकल यी सबै कुरा हराउँदै गएको छ। पछिल्लो पुस्ताले झन् तिज पर्वको महत्त्व नै बिर्सँदै गएको अवस्था छ। हामीले सम्म तिज भन्ने हाम्रो पर्व थियो भन्ने जानकारी पाएका छौ तर अबको पुस्ताले यी सब बिर्सँदै जान सक्ने गुनासो पोख्नु भएको छ। हामी सानो सानो छँदा मादल बजेको सुन्ने बित्तिकै हतार हतार काम सकेर नाच्न गाउन पुग्थ्यौ तर आजभोलि सबै सामाजिक सञ्जालमै व्यस्त हुने गर्दा आफ्नो रीतिरिवाज परम्परा र संस्कृतिलाई बिर्सँदै गएको आफूलाई आभास भएको बताउनु हुन्छ।

यस्तै संस्कृतविद् प्रा. डा बेदमणी भट्टराईले तिजको दरमा शुद्ध भोजन गर्नु पर्ने तर आजभोलि खाने दरमा सबै खानेकुरा अटाउन थालेका छन्शा, काहारी भन्दा मांसाहारीलाई नै बढी प्राथमिकता दिएको बताउनुहुन्छ। ।

उहाँले तिजको दर कहिले र के का लागि खाने भन्दा पनि देखावटी रूपमा जे पनि खाने प्रचलन मौलाउँदै गएको छ । जुन हाम्रो हिन्दु धर्म संस्कार विपरीत भएको बताउनुभयो।

उहाँले तिजको दर व्रत बस्ने दिनको अघिल्लो दिन खाने परम्परा हो । तिजको दिन व्रतको साथै नाचँगान पूजापाठ लगायतका क्रियाकलाप गर्न शरीरलाई शक्ति आवश्यकता पर्ने हुँदा अघिल्लो दिन शरीरलाई लामो समयसम्म आड दिने खानेकुरा खानुलाई दर खाने भनिएको हो । तर परम्परा विपरीत तिज आउनु महिना दिन अगाडी नै दर खाने चलनले समाजलाई भड्काउने गरेको तर्क भट्टराईको रहेको छ।

यस्तै, सस्कृती संरक्षण समिति कोहलपुर १२ बाँकेका अध्यक्ष भूपेन्द्र सुबेदीले पहिलेको तिजमा मानिसहरूलाई तिज कसरी मनाउने भन्ने चिन्ता हुन्थ्यो उ बेला यसरी खर्चिलो र भड्किलो गरेर नमनाउने दाजुभाईले मादल बजाउन मुरली बजाउन सहयोग गर्ने, दिदीबहिनी आमाहरू बसेर दुःखसुखका गीत गाउने प्रचलन थियो । अहिले पश्चिमा संस्कृतिले हाम्रो मौलिक परम्परा र संस्कृतिलाई मासेको गुनासो सुनाउनुहुन्छ। उति बेलाको समयमा स्रोत साधनको अभाव थियो, सडकको बिस्तार थिएन, यातायातका साधन थिएनन्, विवाह भएर गएका छोरी चेलीहरूको माइत आउने र जमघट हुने भनेकै तिजको अवसरमा थियो भने कतिपय त पारिवारिक जिम्मेवारीका कारण तिजमा पनि माइत जान नपाउने बाध्यता समाजमा थियो, त्यति बेला त्यही परिवेशका दुःख पिडा, वेदनाका गीतहरू गाइन्थ्यो ।तर अहिले आएर तिज पर्वको परिभाषा नै फेरिएको छ, यसको मौलिकता धरापमा परेको छ । बर्षायामको पानीले च्याउ उमारेझैँ गायक गायिका उमार्ने पर्व बनेको छ तीज, वर्षभरी नाक मुख नदेखाउने नाम नै नसुनेका कलाकारहरू पनि सके आफू नाङ्गिएर नसके शब्दलाई नङ्ग्याएर त्यो पनि नसके सिङ्गो संस्कृति नङ्ग्याएर आफू हिट हुने मेलो बनाइरहेका छन् । व्यापार र आफ्नो क्षणिक चर्चाको लागि परम्परा र संस्कृतिलाई छाडा रूपमा प्रयोग गरेर पर्वको संवेदनालाई महत्त्वहीन बनाइँदै गएको गुनासो व्यक्त गर्नुभयो ।

उहाँले आजकल मानिसले पैसाको महत्त्वलाई नबुझेर जथाभाबी खर्च गर्ने आफ्ना छोराछोरीलाई आफ्नो रीतिरिवाज सस्कृती परम्परा र चाडपर्वको महत्त्व नबुझाउनाले सस्कृती बिर्सँदै जाने गरेको बताउनु भएको छ। उहाँले हामीले हाम्रो सस्कृती र परम्परालाई पुस्तौपुस्तासम्म बचाईराख्न थोरै भए पनि सहयोग पुगोस् भनेर सस्कृती संरक्षण समिति गठन गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको समेत जानकारी गराउनु भयो।

हरेक कुरा समयसँग परिमार्जन हुन जरुरी छ तर परिमार्जनको सिलसिलामा आफ्नो विषयवस्तुको मान्यता नै विचलित हुने गरी परिमार्जन गर्नु कतिको जायज हो रु

समय बदलियो र समयसँगै महिलाको जीवन जिउने शैली बदलियो । शोषण र दासता हट्दै गए । महिलामा आधुनिकता छायो तर आधुनिकताका नाउमा तिजको रौनक पनि उत्ताउलो र तड्क भडक हुँदै गएको छ ।अहिले त भन्न सक्छौ त्यो पुरानो तिजको स्वाद बदलिएर पुरै फरक भएको छ । अबका पुस्ताले खास तिज के हो भन्ने कुराको समेत पत्तो नपाउने परिस्थितिको सिर्जना हुँदै छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

तीज पर्वको पौराणिक, सामाजिक र सांस्कृतिक महत्त्व हुँदाहुँदै पनि निराहार व्रत बसेर श्रीमानको आयु लामो हुन्छ भन्ने मान्यता अन्धविश्वास हो भन्दै क्रान्तिकारी भावहरू पनि प्रकट हुन थालेका छन् तर व्रत बस्ने सन्दर्भमा यस्ता विरोध गरे तापनि तिनै महिला दिदीबहिनीहरू महिनौँ अगाडिदेखि पार्टी प्यालेसहरूमा दरको नाममा मासु बियर खाने, सामाजिक सञ्जालमा पोस्ट गर्नकै लागि भए पनि नयाँ नयाँ सारी र गहनाहरू लगाउने, भेला भएर दुःख साटासाट र रमाइलो गर्न भन्दा पनि लवाई खवाई र बिलासी, देखावटी रूपमा फेसबुक र टिकटकका लागि कन्टेन्ट बनाउने प्रतिस्पर्धामा नै उत्रेको भान हुन्छ जसले हाम्रो मौलिक तिजलाई आधुनिक भन्दा बढी भड्किलो र भद्दा बनाउँदै गएको छ ।

समय सापेक्ष परिवर्तन हरेक कुरामा आवश्यक पर्छ र संस्कृति र परम्परासँग गाँसिएको पर्वलाई मौलिकतानै बिर्सने गरी मनाइनु विकृति हो । चाडपर्व के धनी, के गरिब सबैले मनाउन सक्ने हुनुपर्छ। भड्किला गतिविधिले समाजमा पार्ने नकारात्मक प्रभावबारे सबै संवेदनशील हुनु आवश्यक छ। हामीले हाम्रो संस्कृति परम्परालाई आफू सम्म मात्र सीमित नराखेर संस्कृतिको महत्त्व पछिल्लो पुस्तामा पनि हस्तान्तरण गर्दै लैजानुपर्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button