राष्ट्रिय चौथो मिस्टर बुल्समेन शारीरिक सुगठन असोज पहिलो साता हुने

पोखरा । बुल्समेन क्लबको आयोजनामा आउँदो असोज ५ र ६ गते चौथो संस्करणको राष्ट्रिय मिस्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । यस अघि तीन संस्करणसम्म क्लबले पोखरामै आयोजना गरेको उक्त प्रतियोगिता यस बर्ष भने ललितपुरको सानेपामा आयोजना गर्ने तयारी गरेको क्लबका अध्यक्ष नुना गुरुङले बताउनु भयो ।
मोफसलबाट आयोजना गरिने उक्त प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएको उहाँले दाबी गर्नु भयो । प्रतियोगिताको ओभरअल च्याम्पियनले ५ लाख नगद पुरस्कार प्रदान गरिने भएको छ भने अन्य विधागत तर्फ नगद पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार तर्फ मात्र करिब २० लाख जसो खर्च हुने हुँदा यस बर्ष आर्थिक कारणले गर्दा पोखरा बाहिर ललितपुरमा गर्न बाध्य भएको क्लबका अध्यक्ष गुरुङले बताउनु भयो ।
अघिल्ला संस्करणको तुलनामा यस बर्ष पोखराबाट करिब ३० प्रतिशत पनि आर्थिक सहयोग जुट्न कठिन भएको उहाँको भनाई छ । प्रतियोगितामा ७ वटा प्रदेशका खेलाडीहरू सहभागी हुने भएको क्लबले जनाएको छ ।
असोज ४ गते सहभागी खेलाडीको तौल लिने छन् भने पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । असोज ५ गते प्रिजजिङ र असोज ६ गते शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा फाइनल प्रतिस्पर्धा हुने क्लबले जनाएको छ ।
मेन्स फिजिक तर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनी प्रतिस्पर्धा गराइने क्लबका उपाध्यक्ष रुपेन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार महिलाको वुमन्स फिजिक र वुमन वेलनेसमा प्रतिस्पर्धा हुने भएको छ । प्रत्येक तौल समूहको विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन्। मेन्स फिजिकको दुवै इभेण्टका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै वुमन फिजिक र वुमन वेलनेस विजेताहरूले समान १ लाख, ५० हजार र ३५ हजार प्राप्त गर्ने भएको क्लबले जनाएको छ ।
‘बुल्समेनको आह्वान युवाहरूको पहिचान’ भन्ने नारासहित स्थापित क्लबले शारीरिक सुगठन खेल मार्फत युवापुस्तालाई खेलकुदप्रति प्रेरित गरेको अध्यक्ष गुरुङले बताउनु भयो । स्वच्छ समाजको लागि स्वास्थ्य मानसिकता र व्यस्त मानसिकताको लागि स्वस्थ शरीर, स्वास्थ्य शरीरको लागि शारीरिक व्यायाम भन्ने मान्यतालाई क्लबले आत्मसात गर्दै आएको उहाँको भनाई छ ।
क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिस्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी गरेपनि कोभिड १९ का कारण प्रतियोगिता स्थगित गरिएको थियो । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च लाग्ने भएको क्लबले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्