तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ’

काठमाडौँ । अर्थमन्त्री डा प्रकाश शरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

file photo

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर) द्वारा आज काठमाडौँमा आयोजित ‘साना राष्ट्रको क्षमता : नेपालमा प्रतिस्पर्धाको परख र विदेश नीतिको प्राथमिकता’ विषयक विचार गोष्ठीमा अर्थमन्त्री डा महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना भएकाले आवश्यक पूर्वाधार निर्माण गरी त्यसको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा महतले ५० देखि शतप्रतिशत छात्रवृत्ति विना विदेशमा अध्ययनका लागि जान नहुने धारणा राख्दै नेपालमा पनि शिक्षाका क्षेत्रमा पनि धेरै अवसर भएकाले सोको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री डा महतले पछिल्लो समय ठूलो सङ्ख्यामा युवा आइटीमा लागे पनि करको दायरामा भने नआएको बताउनुभयो । उहाँले नेपालबाट बेलायतमा सय मिलियन पाउन्ड बराबरको सफ्टवेयर निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको दाबी समेत गर्नुभयो ।

कार्यक्रममा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले नेपालको अर्थतन्त्रमा आर्थिक चुनौती यथावत् रहेकाले अहिलेको अर्थतन्त्रको ‘ट्रेन्ड’लाई बदल्न जरुरी रहेको धारणा राख्नुभएको थियो । उहाँले दुई छिमेकी राष्ट्रको बढ्दो अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरूप फेर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको हालको अर्थतन्त्रको अवस्थालाई बदल्न अमेरिका लगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गर्नुभयो ।

पूर्व अर्थ मन्त्री जनार्दन शर्माले नेपालका दुई छिमेकी भारत र चीनमा आर्थिक विकास द्रुत गतिमा भइरहेकाले त्यसबाट हामीले पनि सिक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button