दिवङ्गत आफन्तको सम्झनामा नाग नागिनी नाच प्रदर्शन (फोटोफिचर)
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको बर्खेनाच अन्तर्गत नागानागी (सापरु) नाच प्रदर्शन गरिएको छ ।

नेपाल भाषा मंका खल र ल्याम पुचको आयोजनामा जनैपूर्णिमाको अवसरमा दुई दिनसम्म (बिहीबार र शुक्रबार) बेनीमा वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा नागानागिनी नाँच प्रदर्शन हुने गर्दछ ।

बर्खेनाच बेनीका नेवार समुदायको सांस्कृतिक पहिचानको रुपमा रहेको छ । वर्षभरिमा दिवङ्गत हुनुभएका व्यक्तिको सम्झनामा निकालिएको सापारु नाच बजारभर प्रदर्शन गरिएको नेपाल भाषा मंका खलः अन्तर्गत रहेको ल्यामपुचका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । नेवार संस्कृतिमध्ये बर्खे नाच अन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर तिज पर्वसम्म बेनी बजारमा विभिन्न नाचहरू देखाउने प्रचलन छ ।

ल्याम्हः पूचका सदस्य सज्जन श्रेष्ठले यो वर्ष बेनी बजारमा लाखे नाच, घोडा नाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरु नाच, रोपाई नाच, धानको बाला नाच देखाउने बताउनुभयो ।

बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाइन्छ । ऐतिहासिक महत्त्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरूले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।

एक महिनासम्म देखाइने बर्खे नाचमा परापूर्व कालमा समाजमा दुख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खे नाचमा देखाउने गरिन्छ ।

बर्खेनाच अन्तर्गत तीजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिने प्रचलन छ ।






प्रतिक्रिया राख्नुहोस्