प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समितिका सभापति निर्विरोध चयन, साढे ४ बजे शपथ हुँदै

प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका सभापति आज निर्विरोध निर्वाचित हुनु भएको छ ।
प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण कुमार शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।
यसैगरी कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदी र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकिकृत समाजवादीका सांसद भानुभक्त जोशी निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तै नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समिति, सन्तोष चालिसे अर्थ समिति र आरजु राणाले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंह पूर्वाधार विकास समितिको सभापतिका निर्वाचित हुनुभएको छ ।
यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिनुभएको उम्मेदवारी फिर्ता लिनुभएपछि खान निर्विरोध निर्वाचित हुनुभएको हो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका सांसद खान र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पराजुलीले मनोनयन दर्ता गराउनुभएको थियो ।
समितिको सभापति पदका लागि हिजो बिहान ११ः०० देखि अपराह्न ४ः०० बजेसम्म संघीय संसद् सचिवालय सिंहदरबारमा उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनु भएको थियो ।
निर्विरोध निर्वाचित सभापतिहरूको आजै साढे ४ बजे शपथ हुने तयारी भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्