पश्चिम नेपालका ३० हजार क्यान्सर बिरामीलाई उपचार दिँदै सुशील कोइराला क्यान्सर अस्पताल

नेपालगन्ज । बाँकेको खजुरामा सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ ।
यति ठूलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने उक्त क्यान्सर अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी भने काज र करारका मात्र छन् । अस्पतालमा हालसम्म १ जना पनि स्थायी दरबन्दी छैन । काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निरज भट्टराईले दैनिक २ सयदेखि ३ सय बिरामी उपचारका लागि आउने गरेको अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जानकारी दिँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताउनुभयो ।
उहाँले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ४ सय जनशक्ति आवश्यक रहेको ठहर गरी सरकारसँग माग गरेको बताउनुभयो ।
डा. भट्टराईका अनुसार हाल अस्पतालमा अधिकृतस्तरका चिकित्सक र कर्मचारी ४५ जना करारमा रहेकामा २७ जना थप माग गरिएको, ५८ जना सहायक स्तरका कर्मचारी करारमा रहेकाले ३४ जना थप माग गरिएको छ । साथै सबै चिकित्सक र कर्मचारीलाई स्थायी दरबन्दी कायम गरेर पठाउन मन्त्रालयमा माग गरिएको छ ।
बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको र हाल १५ जना विशेषज्ञ चिकित्सक काज र करारमा रहेकामा थप ६ जना माग गरिएको र ५ जना मेडिकल अफिसर रहेकामा थप २ जना माग गरिएको भट्टराईको भनाई छ ।
पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर ३ वटा प्रदेशको ४० जिल्लाका क्यान्सर रोगका बिरामीको उपचार गर्दै आएको एक मात्र अस्पतालले गत आर्थिक वर्षमा २९ हजार २५५ जना क्यान्सरका बिरामीको उपचार गरेको छ ।
अस्पतालका प्रमुख डा। भट्टराईका अनुसार सो अस्पतालले विभिन्न सेवा सुविधामार्फत उपचार गर्न थालेपछि पश्चिम नेपालको ३ वटा प्रदेशका करिब ३० हजार बिरामीलाई उपचार सहज भएको छ ।
यसअघि ३ प्रदेशका बिरामीलाई क्यान्सर उपचारका लागि चितवन, काठमाडौँ वा भारतका विभिन्न सहरमा जानुपर्ने बाध्यता रहेकामा अब उक्त बाध्यता हटेको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्