पोखराका ट्याक्सी मिटरमा नचले अधिकतम १५ हजार जरिवाना हुने
पोखरा । पोखराका ट्याक्सी मिटरमा नचले अधिकतम कारबाही स्वरूप १५ हजारसम्म जरिवाना हुने भएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घले आइतबार पोखरामा आयोजना गरेको ‘गण्डकी प्रदेशको राजधानी पोखराको सवारी व्यवस्थापनका चुनौती र समाधान’ विषयक अन्तरक्रियामा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले अर्को महिना (असोज) देखि पोखरामा मिटरमा ट्याक्सी नचलेको भेटिएमा कारबाही स्वरूप अधिकतम १५ हजार जरिवाना गर्न निर्देशन दिनुभएको हो ।
भदौ १ गतेदेखि पोखरामा मिटरमा ट्याक्सी सञ्चालन भएको अवस्थामा अझै केही ट्याक्सीले मिटरमा चलाउन आनाकानी गरेको जनगुनासो आएकोले असोज महिना देखि मिटरमा ट्याक्सी नचलेको भेटिएमा यातायात सवारी ऐन अनुसार कारबाही हुने चेतावनी मन्त्री जुग्जालीले दिनुभयो ।
पोखरामा २०७७ सालमा मिटरमा ट्याक्सी सञ्चालन भए पनि त्यसले निरन्तरता नपाएको अवस्थामा हाल आफूहरूले व्यवसायीहरूसँग छलफल गरी मिटरमा ट्याक्सी सञ्चालन गर्ने विषयमा सहमति भएअनुसार उक्त निर्णय गरिएको उहाँको भनाई छ । अब पोखरामा निरन्तर रुपमा मिटरमा ट्याक्सी सञ्चालन हुने र त्यसको निरन्तर रुपमा अनुगमन हुने मन्त्री जुग्जालीले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष सञ्जीव बहादुर कोइरालाले मन्त्रीको विशेष पहलमा पोखरामा मिटरमा ट्याक्सी लागु भएकोमा खुसि व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्