तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसमा विकेन्द्रीकरण आवश्यक छः डा. कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले काँग्रेसलाई विकेन्द्रीकरण गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रीकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै काँग्रेसमा पनि विकेन्द्रीकरण जरुरी रहेको उल्लेख गर्नुभयो । जिल्लाका विवाद र समस्याहरू केन्द्रमा जाँदा केन्द्र नै ध्रुवीकृत हुने अवस्था बनेको भन्दै उहाँले जिल्ला तहका समस्या जिल्ला स्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजनमा जोड दिनुभयो ।

गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै कोइरालाले अधिवेशन पश्चात् गुटहरू स्वतः निष्क्रिय भएर जाने जिकिर गर्नुभयो । कांग्रेस आफैँले खुट्टा कमाएका कारण अन्य दलहरूसँग गठबन्धन गर्नुपरिरहेको बताउँदै उहाँले कांग्रेस सक्षम भए कसैसँग पनि गठबन्धन गर्नु नपर्ने बताउनुभयो ।

आफ्नो मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गर्नुभयो । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमानदारीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै तत्काल भ्रष्टाचार निर्मूल गर्न नसके पनि कम गर्न सकिने बताउनुभयो । नेतृत्व नै भ्रष्ट भएमा सबै कुरा बिग्रिने भन्दै उहाँले नेतृत्व अझै इमान्दार बन्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानका बारेमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभयो । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डोर्‍याइरहेको भन्दै उहाँले निर्वाचन प्रणालीका बारेमा समेत सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गर्नुभयो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलेको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु सञ्जयकुमार गौतम र उर्मिला थपलिया लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button