अध्यक्ष तिमिल्सिनासँग जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूकाे शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहनुभएका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।
जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरू कोबयासी काजुहिरो र नागाई मानाबुले आज सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुवै देशहरू प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको उल्लेख गर्नुहुँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिनुभयो ।
नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठुलो योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्त्वपूर्ण क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनुभयो ।

जापान नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत देशहरू मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको विकास प्राथमिकताका क्षेत्रहरूमा आगामी वर्षहरूमा जापानी लगानी बढ्ने आशा राख्नुभयो ।
अन्तर व्यवस्थापिका सङ्घलगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समूह छिट्टै गठन हुने जानकारी गराउनुभयो ।
भेटमा जापान नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले नेपाल र जापान बीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पनि जापानमा हुने “वर्ल्ड एक्सपो-२०२५, ओसाका, जापान“ मा सहभागी हुन लागेकोमा खुसी व्यक्त गर्दै उहाँहरूले त्यसले नेपालको पर्यटन, व्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँहरूले नेपाल जापान संसदीय मैत्री समूह छिटै गठन हुने आशा राख्दै मैत्री समूहमार्फत संसदीय अनुभवहरूको आदानप्रदान गने अपेक्षा राख्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्