हेर्निकाँदका महिलाहरूको उद्यमशीलता, तरकारी खेतीबाटै लाखौँको आम्दानी

मुगु । मुगु जिल्ला सदरमुकाम नजिकै पर्ने छायाँनाथ रारा नगरपालिका वडा नं ३ हर्निकाँद गाउँका कृषकहरूले आधुनिक तरकारी खेतीबाट लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् । वर्षौँदेखि कोदो, काउनी, चिनोको परम्परागत बालीको खेती गर्दै आएका कृषकहरू आधुनिक तरकारी खेतीतर्फ उन्मुख भएपछि लाखौँ रुपियाँ आम्दानी गर्न सफल भएका हुन् । परम्परागत खेतीपातीले खासै आम्दानी नभएपछि आफु मौसम तथा बेमौसम तरकारी खेती गर्न तिर लागेको छायाँनाथ रारा नगरपालिका वडा नं ३ हेर्निकाँद गाउँका कृषक रामदेवी बुढाले बताउनु भयो ।
तरकारी खेती शुरु गर्नु भन्दा केही बर्ष अघि आफूसँग साबुन किन्ने समेत पैसा जुटाउन धौ, धौ हुने गर्दथ्यो तर आज भोली तरकारी खेती तिर लागेपछि वर्षभरि आफ्नो ७ जनाको परिवारलाई घरखर्च धानेर बाल बच्चालाई काठमाडौंमा पढाउन समेत भ्याएको बुढाको भनाई छ ।
रामदेबीका छिमेकी चल्लीसर बुढाले पनि तरकारी खेती गरेको धेरै समय भयो । उनले तरकारी बेचेरै एक वर्षमा ३ लाख भन्दा बढी रकम कमाउने गरेको बताइन् । उनले भनिन्, ‘मेरा ३ जना बालबच्चा मध्ये २ जनालाई काठमाडौँ पढाउँदै छु ।’ विगतमा खेतीपातीको मेसो नपाएर पुरानै खेती गर्नाले धेरै घाटा भएको चल्ली सराले सुनाइन् ।

आर्थिक अवस्थामा केही मजबुद भएकी सोही गाउँकी अर्की कृषक सत्यरुपा कार्कीका श्रीमान् त्यही गाउँका शिक्षक हुन् तर विगतमा आफूलाई चाहिने सबै खर्च श्रीमान् कै भर पर्नु पर्दथ्यो तर गाउँमा सबै महिलाले तरकारी खेती गरेर उनको आर्थिक अवस्थामा सुधार आएको देखेर मैले पनि तरकारी शुरु गरेपछि राम्रै आम्दानी भयो । त्यसपछि श्रीमानको कमाइमा निर्भर हुनु परेन उनले भनिन् ।
जम्मा ७ जनाको परिवार भएको कार्कीको वार्षिक २ लाख भन्दा बढी रुपियाँ तरकारी बेचेर कमाउने गरेकोले कसैको मुख ताक्नु नपरेको सत्यरुपाको भनाई थियो । गाउँमा बुढा, कार्की प्रतिनिधि पात्र मात्र हुन् हेर्नीकाँद गाउँका जम्मा २३ घरधुरीले तरकारी खेती गर्ने गर्दछन् विशेष गरी सदरमुकाम गमगढी बजार नजिक पर्ने भएकाले उत्पादन गरिएको तरकारी ढुवानीको लागि धेरै समय नलाग्ने र बजारको पनि कुनै अभाव नहुने भएकाले हेर्निकाँद बासीहरू तरकारी खेतीमा लागि परेका हुन् सोही गाउँका शिक्षक रंगबहादुर कार्कीले भने ।
उनका अनुसार तरकारी बेचेको पैसा गाउँका सबैले गमगढी बजारमा रहेका छायाँनाथ बचत तथा सहकारी संस्था,डिप्रोस नेपाल, रिणमोक्ष फलफूल हाट बजार र निर्धन विकास बैङ्कमा घर खर्च बेहोरेर बचेको पैसा बचत गर्दै आएको शिक्षक कार्कीले बताउनु भयो । हेर्निकाँदका महिलाहरूको तरकारी उत्पादन गरी गमगढी बजारमा लगि बिक्री गर्ने दिन चर्या नै हो । विगतका दिनहरूमा तरकारी खेती नगरेर समय धेरै खेर फाल्ने गरेकोले उनीहलाई अहिले धेरै पछुतो लागेको छ । सरकारले सहुलियत ऋणका साथै कतैबाट सहयोग नपाएको गुनासो हेर्निकाँदका महिलाहरूको छ ।

अग्लो अनि दक्षिण मोहोडा भएको हेर्निकाँद बस्ती हिउँदको समयमा बिहानै घाम लाग्ने र सिँचाइको पनि राम्रो व्यवस्था भएकोले त्यहाँका कृषकहरू बर्ष भरी हरियो सागपात, भाजी, चम्सुर, धनियाँ बोडी लौका, तितेकरेला, प्याज, काउली, बन्दा काँक्रा, खुर्सानी, कर्कलो फर्सीको मुन्टा र फर्सी, कागती, फापरका पाल्ता, गाँजर टमाटर र गोल्भेडा उत्पादन गर्दै आएका छन् । यसका अलावा गमगढी बजार नजिकै रहेका कार्कीवाडा, भामवाडा, ढुम, ताल्चा निगालेका महिलाहरूले पनि तरकारी खेती गरी गमगढीमा बेच्ने गरेका छन् । यस बर्ष पनि हेर्निकाँद गाउँका किसानहरुले तरकारी बेचेर पचास लाख भन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्