तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वीनाकामा राडारसहितको सिसी क्यामेरा जडान

भद्रपुर, झापा । पूर्वीनाका झापाको मेचीनगरमा गुडिरहेको यातायातको साधन र नम्बर प्लेटको फोटो खिच्ने राडारसहितको अत्याधुनिक सिसी क्यामरा जडान गरिएको छ ।

नाकाको सुरक्षा र निगरानीका लागि जडान गरिएको सो क्यामेराले रातिसमेत दुरुस्त फोटो खिच्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दिपक भारतीले बताउनुभयो ।

गुडिरहेको सबैखाले यातायातको साधनको भिडियो, फोटो र नम्बर प्लेट खिच्ने सो क्यामेराले गति पनि मापन गर्ने उहाँले जानकारी दिनुभयो । यो क्यामराको नाम अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपीआर) रहेको छ ।

मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टास्थित पूर्वपश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुईवटा क्यामेरा पूर्व र पश्चिम फर्काएर जडान गरिएको छ । पूर्वीनाकामा पश्चिमतर्फ जाने र पूर्वतर्फ आउने सबै यातायातका साधनहरू सोही क्यामरा भएको सडकबाट गुड्ने गरेका छन् ।

प्रनाउ भारतीका अनुसार यसको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कार्यालयमा राखिएको छ । त्यहाँ कार्यरत प्रहरी प्राविधिकले क्यामेराले कैद गरेको भिडियो, फोटो र गतिको नियमित निगरानी गरिरहेका हुन्छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले नयाँ प्रयोगको रुपमा उक्त अत्याधुनिक सिसी क्यामेरा जडान गरेको हो । क्यामेरा जडानको लागत मूल्य रु. १२ लाख रहेको बताइएको छ ।

क्यामेराले राजमार्गमा गुड्ने सबै साना–ठूला यातायातका साधन र तिनका नम्बरको स्वचालित रुपमा फोटो खिचेर रेकर्ड राख्ने गरेकाले सीमानाकामा हुने विभिन्न किसिमका अपराध नियन्त्रणमा यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button