सुदूरपश्चिममा लम्पी स्किन सङ्क्रमणबाट १३ हजार ७८० पशु मरे
धनगढी । सुदूरपश्चिम प्रदेशमा लम्पी स्किन रोगको सङ्क्रमणबाट साढे १३ हजार बढी पशु मरेका छन् भने करिब ३ लाख पशु सङ्क्रमित भएका छन् ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार लम्पी स्किन सङ्क्रमण प्रदेशका सबै जिल्लामा फैलिएको छ । लम्पी स्किन सङ्क्रमणबाट प्रदेशभर १३ हजार ७८० पशु मरेका छन् भने ३ लाख २५ हजार ७९९ पशु सङ्क्रमित भएका छन् ।
यो रोगको सङ्क्रमणबाट सबैभन्दा बढी बैतडीमा ३४ सय ४९ पशु मरेका छन् ।
यस्तै, लम्पी स्किन सङ्क्रमणबाट कैलालीमा २७५, कञ्चनपुरमा ११९, डडेलधुरामा १ हजार ५३०, दार्चुलामा १ हजार ५३१, डोटीमा २ हजार ७५, अछाममा १ हजार ६८१, बझाङमा २ हजार ४२७ र बाजुरामा ६९३ पशु मरेका छन् ।
यस प्रदेशमा वैशाखदेखि पशुहरूमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको बताइएको छ । यसबाट कैलालीमा ४ हजार ८९८, कञ्चनपुरमा २ हजार ६१५, डडेलधुरामा २६ हजार ७११, बैतडीमा ७० हजार ९४०, दार्चुलामा ४३ हजार ४७७, डोटीमा ३८ हजार ६७३, अछाममा ३८ हजार ८००, बझाङमा ६५ हजार ६४६, बाजुरामा ३४ हजार ३९ पशुमा सङ्क्रमित रहेका छन् ।
लम्की स्किन सङ्क्रमित पशुहरूको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत उपचारको व्यवस्था गरिएको छ ।
हालसम्म २ लाख ३६ हजार ७८७ पशुहरूको उपचार गरिएको र ४ हजार ५९९ पशुलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ । यस्तै खोप लगाउन बाकी रहेका पशुहरूको सङ्ख्या करिब १५ लाख ३० हजार ३३२ रहेको छ ।
सुदूरपश्चिम प्रदेशमा पशुहरूको सङ्ख्या १५ लाख २५ हजार ७३३ रहेको बताइएको छ ।
मन्त्रालयका सचिव डा.मदनसिंह धामीका अनुसार लम्पी स्किन सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रणको कार्यायोजना २०८० अघि बढाएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकबाट पारित भएपछि उक्त कार्य योजनामा कार्यान्वयनमा आउने छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले लम्की स्किन नियन्त्रण कार्यायोजना अघि बढाउने निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्