राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभएको छ ।
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा आज तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्नुभयो ।
विश्व परिवेशमा देखा परेका विभिन्न घटनाक्रमका कारण अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आइरहेको परिवर्तन, सूचना एवं प्रविधिको तीव्र गतिमा भइरहेको विकास क्रमका साथै राष्ट्रिय रूपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
उहाँले उच्चस्तरीय तालिम सञ्चालनका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा नआउँदासम्म यहाँ सञ्चालन गरिने तालिमले नै राष्ट्रिय सुरक्षामा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री खड्काले अन्य सुरक्षा निकायबाट पनि उत्कृष्ट अधिकृतहरू सहभागी हुने हुँदा आ–आफ्नो सङ्गठनमा उदाहरणीय रूपमा जिम्मेवारी बहन गरी आफूलाई अब्बल प्रमाणित गर्न तालिमरत शिक्षार्थीलाई सुझाव दिनुभयो ।
विसं २०४७ सालमा शाही नेपाली सैनिक तालिम प्रतिष्ठानका रूपमा स्थापित उक्त संस्थानले आजका दिनसम्म आइपुग्दा नेपाली सेनाको गौरव गर्न लायक संस्थाको रूपमा रहेको उहाँको भनाइ थियो । कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थी समेतको सहभागिताले अन्तर–सांस्कृतिक ज्ञान र अनुभवको आदानप्रदान गर्ने अवसर समेत उपलब्ध भएको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्